तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । राजधानी काठमाडौंमा यही चैत २९ गतेदेखि ३१ गतेसम्म तीन दिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुने भएको छ। सो सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) को अगुवाइमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय को संयुक्त सहयोगमा आयोजना गरिनेछ।

टुवाडर्स सेफ सस्टेनेबल इफिसियन्ट एण्ड रेजिलियन्ट मोबीलिटि भन्ने मुख्य नारासहित आयोजना गरिन लागेको यस सम्मेलनमा देश-विदेशबाट करिब ३०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा सोटेनका अध्यक्ष डा. हरेराम श्रेष्ठले नेपालको यातायात क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरूको समाधानका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

होटल याक एण्ड यतिमा आयोजना हुने सम्मेलनमा १२ देशका प्रतिनिधिहरू, २२ जना अन्तर्राष्ट्रिय विज्ञहरू र ४५ जना वक्ताहरू सहभागी हुनेछन्। सम्मेलनको क्रममा १६ वटा फरक–फरक सत्रहरू सञ्चालन हुनेछन्, जसमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सन्दर्भमा आवश्यक सुधारका विषयमा गहन छलफल गरिनेछ।

सोटेनका महासचिव हेमन्त तिवारीले सम्मेलनले नेपालमा सुरक्षित, दिगो, भरपर्दो र कुशल यातायात प्रणाली निर्माण गर्न मार्गदर्शन गर्ने बताए। सचिव श्रवण कुमार थापाले भने यातायात क्षेत्रको समुचित विकासका लागि सरोकारवाला निकायहरूबीच सशक्त समन्वयको आवश्यकता औंल्याए।

सोटेनले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय र प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। यातायात पूर्वाधारको डिजाइन, निर्माण, सञ्चालन तथा मर्मत–सम्भारमा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासलाई देशमा प्रबर्द्धन गर्न सोटेनले निरन्तर योगदान दिँदै आएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार