काठमाडौं । हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ७ अर्ब ५ करोड ८१ लाख नाफा कमाएका छन् । जसमध्ये १७ वटा कम्पनीले खुद घाटा व्यहोरेका छन् । बाँकी कम्पनी भने नाफामा छन् ।
यता, रसुवागढी हाइड्रोपावरको घाटा १ अर्ब भन्दा माथि छ । यसले गर्दा पनि समग्रमा कम्पनीहरुको नाफा कम देखिएको हो । यसअवधिसम्म आइपुग्दा अपर तामाकोशीले सबैभन्दा धेरै ९९ करोड ६५ लाख नाफा कमाएको छ । साहस उर्जाले ९० करोड ४८ लाख, माउन्टेन इनर्जीले ५४ करोड १४ लाख, ग्रीन भेन्चर्सले ४६ करोड ६७ लाख नाफा कमाएको छ ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । साथै, बैंकको ब्याजदर घटेको कारण पनि यी संस्थाहरुको वित्तीय खर्च घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।
हाइड्रोपावर कम्पनीहरुले दोस्रो त्रैमाससम्म २८ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको सेयर स्क्रिनिङ सफ्टवेयर स्मार्ट वेल्थ प्रोले जनाएको छ । जसमध्ये, अपर तामाकोशीले ६ अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । साहसले १ अर्ब ७० करोड, ग्रीन भेन्चर्सले १ अर्ब १ करोड आम्दानी गरेको छ ।
१३ कम्पनीले ५० करोड रुपैयाँ भन्दा धेरै विद्युत बिक्रीबाट आम्दानी गरेका छन् । यता, समग्रमा हाइड्रोपावर कम्पनीहरुको जगेडा कोषमा १ अर्ब ३८ करोड रुपैयाँ छ । जसमध्ये अपर तामाकोशीको जगेडा कोष १० अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक छ । ४ कम्पनीको जगेडा कोष १ अर्ब भन्दा धेरैले ऋणात्मक छ । ९३ मध्ये ४५ वटाको सञ्चित नाफा ऋणात्मक छ ।
४८ कम्पनीको जगेडा कोष धनात्मक छ । सबैभन्दा धेरै जगेडा कोषमा बुटवल पावरको ३ अर्ब ६९ करोड, साहस उर्जाको ३ अर्ब २३ करोड र सानिमा माईको रिजर्भमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा रहेको छ ।
अपर तामाकोशीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । चिलिमेको ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ छ । समग्रमा ९३ वटा हाइड्रोपावर कम्पनीको चुक्ता पुँजी १ खर्ब ७५ अर्ब ८९ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ । ५१ वटाको चुक्ता पुँजी १ अर्ब भन्दा धेरै छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी साहस उर्जाको ३९.५७ रुपैयाँ छ । बुक भ्यालु भने बुटवल पावरको सबैभन्दा धेरै २०८.४ रुपैयाँ छ ।



