CLI

सीडीएससीको दोहोरो आइजिन प्रस्ताव: लगानीकर्ता सकारात्मक, निजी क्षेत्र असन्तुष्ट

काठमाडौं । संस्थापक र साधारण सेयरको छुट्टा छुट्टै आइएसआइएन (आइजिन) नम्बर बनाउने प्रस्तावले नयाँ शक्ति संघर्ष जन्माएको छ । दोहोरो आइएसआइएन (ISIN) नम्बर कार्यान्वयनको विषयमा सीडीएससी, लगानीकर्ता र निजी क्षेत्र आमनेसामने देखिएका छन् ।

सीडीएससीले तयार गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरेको जानकारी कार्यक्रममा पुँजीबजारका सरोकारवाला सहभागी भए । कार्यक्रममा निजी क्षेत्र, स्टक ब्रोकर, इप्पान, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, लगानीकर्ता तथा सञ्चारकर्मी उपस्थित थिए।

तर, विडम्बना बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि भने अनुपस्थित रहे ।

‘दबाब आयो, तर बजारका लागि आवश्यक’

सीडीएससीकी प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख प्रवीण पन्दकले निर्देशिका सार्वजनिक नगर्न आफूलाई दबाब आएको खुलासा गरिन् । ‘यो कार्यक्रम नगर, निर्देशिका नदेखा, दोहोरो आइएसआइएन नल्याऊ भनेर दबाब आयो,’ उनले भनिन् ।

उनका अनुसार निर्देशिका सीडीएससी सञ्चालक समितिबाट पारित भएर सेबोनमा पठाइएको भए पनि ६–७ महिनादेखि स्वीकृतिको प्रतीक्षामा छ । ‘हामीले ड्राफ्ट पठाएका छौं । पास भयो कि भएन भन्ने स्पष्ट जानकारी छैन,’ उनले बताइन्।

प्रस्तावित व्यवस्थाअनुसार संस्थापक र सर्वसाधारण सेयर लक–इन अवधिसम्म फरक–फरक आइएसआइएन नम्बरमा रहनेछन् । पन्दकका अनुसार हाल आइपीओ जारी गर्नु अगाडि सार्वजनिक हुने विवरणपत्रमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत सर्वसाधारण भनिए पनि सीडीएसीमा भने शतप्रतिशत साधारण सेयर देखिएको थियो ।

‘केही अवस्थामा संस्थापक सेयर सुटुक्क साधारण सेयरमा मिसाउने गरिएको छ । दोहोरो आइएसआइएनले यस्तो प्रवृत्ति नियन्त्रण गर्न मद्दत गर्छ,” उनले भनिन्।

निजी क्षेत्रको कडा असन्तुष्टि

यता, निजी क्षेत्र भने दोहोरो आइएसआइएनप्रति आशंकित देखिएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले कसले दबाब दिएको हो भन्ने खुलासा गर्न माग गरे । ‘यदि नियामकले निजी क्षेत्रलाई नै मारमा पार्ने हो भने आईपीओ नै रोकिदिए हुन्छ,’ उनले टिप्पणी गरे।

उनका अनुसार केही कम्पनीले गलत गरेको आधारमा सम्पूर्ण निजी क्षेत्रलाई एउटै मापदण्डमा हेर्न नहुने हो । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले दोहोरो आइएसआइएनले एउटै कम्पनीमा २ मूल्यको अवस्था सिर्जना गर्ने बताए।

“९०–१० प्रतिशत संरचनामा आईपीओ जारी हुँदा नै मूल्यमा स्पेकुलेसन देखिएको छ । २ आइएसआइएनले बजार विभाजित हुन्छ । कुन किन्ने, कुन बेच्ने भन्ने भ्रम हुन्छ । रियल प्राइस डिस्टर्ब हुन्छ,” उनले भने।

उनको तर्क छ— एउटै कम्पनीमा एउटै मात्र आइएसआइएन नम्बर हुनुपर्छ, अन्यथा लगानीकर्ताको विश्वास कमजोर हुन सक्छ।

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले लगानी गर्दा इन्ट्रि र एक्जिट सहज हुनुपर्नेमा जोड दिए।

लगानीकर्ता किन दोहोरो आइएसआइएनको पक्षमा

सेयर लगानीकर्ताहरु भने दोहोरो आइएसआइएन नम्बरलाई बजार सुधारको महत्वपूर्ण कदमका रुपमा हेरेका छन् । लगानीकर्ता तिलक कोइरालाले संस्थापक सेयरधनीहरु एकैचोटि बाहिरिन नहुने बताए ।

नेपाल सेयरबजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसीले दोहोरो आइएसआइएनले संस्थापक र सर्वसाधारण सेयरबीच स्पष्टता ल्याउने बताए। कार्यक्रममा उपस्थित अधिकांश लगानीकर्ताले सीडीएससीको प्रस्तावको समर्थन गरेका थिए ।

Leave Your Comment

Related News