काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त वृद्धि, संरचनात्मक असन्तुलन र रुपान्तरणको दबाबबीच अघि बढिरहेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले देखाएको अवस्थाअनुसार पछिल्लो १ दशकमा औसत आर्थिक वृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ ।
यस्तो अवस्थाले रोजगारी सिर्जना कमजोर बनाउने, बेरोजगारी बढाउने र जनजीवनमा आर्थिक दबाब थप्ने जोखिम देखिएको छ । उत्पादन संरचनामा कृषि र उद्योग कमजोर हुँदै सेवा क्षेत्र हावी भएको छ, जसले अर्थतन्त्रलाई आयातमा निर्भर बनाउँदै आत्मनिर्भरता घटाउने खतरा बढाएको छ ।
यसैबीच वैदेशिक रोजगारीमा बढ्दो निर्भरता देखिनु देशभित्र दक्ष जनशक्ति घट्ने र दीर्घकालीन विकास क्षमतामा असर पर्ने संकेत हो ।
यता, जलविद्युत, वन र खनिजजस्ता प्राकृतिक स्रोतमा ठूलो सम्भावना भए पनि यसको न्यून उपयोगले आर्थिक अवसर गुमिरहेको छ। ऊर्जा र पर्यटन क्षेत्रमा प्रगति भए पनि पूर्वाधार कमजोर हुँदा लगानी र उत्पादन पूर्ण रूपमा विस्तार हुन सकेको छैन।
पछिल्लो १ दशकमा अर्थतन्त्र न्यूनतम २.४ प्रतिशत संकुचनदेखि अधिकतम ९ प्रतिशतसम्मको उतारचढावमा रहेको छ । पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि अपेक्षाकृत कमजोर रहँदा आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतले विस्तार भएको अर्थतन्त्र २०८२/८३ मा ३.५ प्रतिशत मात्र विस्तार हुने प्रक्षेपण गरिएको छ । यता, तथ्यांक विभागले भने आर्थिक वृद्धि चालु आवमा ३.८५ सम्म हुने अनुमान गरेको छ ।
छिमेकी मुलुकहरूको तुलनामा नेपालको आर्थिक वृद्धि सुस्त रहेको प्रतिवेदनले देखाएको छ।
असन्तुलित उत्पादन संरचना
प्रतिवेदन अनुसार नेपाल “premature de-industrialization” को अवस्थाबाट गुज्रिरहेको छ, जहाँ कृषि क्षेत्रबाट पूर्ण औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ अर्थतन्त्र केन्द्रित भएको छ । आर्थिक वर्ष २०७२/७३ मा कृषि क्षेत्रको योगदान २८.४ प्रतिशत रहेकोमा २०८१/८२ मा यो घटेर २५.२ प्रतिशत पुगेको छ। सेवा क्षेत्र ५७.५ प्रतिशतबाट बढेर ६२.० प्रतिशत पुगेको छ भने उद्योग क्षेत्र १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा सीमित भएको छ।
कृषि क्षेत्रमा कुल जनसंख्याको करिब ६२ प्रतिशत निर्भर भए पनि यसले जीडीपीमा केवल २५.२ प्रतिशत मात्र योगदान गरेको छ। कृषि वृद्धिदर औसत ३ प्रतिशतमा सीमित रहँदा उत्पादकत्व पनि दक्षिण एसियाली औसतभन्दा न्यून रहेको प्रतिवेदनले देखाएको छ ।
उत्पादनमूलक उद्योगको अवस्था अझ कमजोर रहेको छ। यस क्षेत्रको जीडीपीमा योगदान औसत ५.४ प्रतिशत मात्र रहेको छ भने वृद्धिदर २.९ प्रतिशतमा सीमित छ । लगानीको अभाव, आयातीत कच्चा पदार्थमा उच्च निर्भरता, प्रविधिको न्यून प्रयोग र उच्च लागतले औद्योगिक प्रतिस्पर्धात्मकता कमजोर बनाएको छ ।
ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति तर संरचनात्मक चुनौती
प्रतिवेदन अनुसार विद्युत उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भएको छ । २०६८ मा ६९७.८५ मेगावाट रहेको जडित क्षमता २०८२ फागुनसम्म ४,१०५ मेगावाट पुगेको छ । नेपाल अहिले विद्युत खुद निर्यात गर्ने अवस्थामा पुगेको छ ।
तर सुख्खा याममा विद्युत आयात गर्नुपर्ने अवस्था, प्रसारण लाइन विस्तारको कमजोरी र वितरण प्रणालीको सीमितताका कारण पूर्ण उपयोग हुन सकेको छैन । ऊर्जा खपत वृद्धि, जलाशययुक्त आयोजना र सौर्य ऊर्जामा लगानी विस्तार आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।
सेवा क्षेत्र विस्तार तर रोजगारी सीमित
सेवा क्षेत्र विस्तार भए पनि मर्यादित रोजगारी सिर्जना पर्याप्त नभएको प्रतिवेदनले देखाएको छ । सेवा क्षेत्र मुख्यतः व्यापार, आवास, प्रशासन र परम्परागत वित्तीय सेवामा केन्द्रित छ । उच्च मूल्य अभिवृद्धि गर्ने सूचना प्रविधि, एआई, रोबोटिक्स, डाटा सेन्टर र नवप्रवर्तनात्मक सेवा क्षेत्र कमजोर रहेको छ।
बेरोजगारी र वैदेशिक रोजगारीमा निर्भरता
प्रतिवेदन अनुसार नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत रहेको छ। स्वदेशमा रोजगारी अवसर सीमित हुँदा वैदेशिक रोजगारीमा निर्भरता बढ्दो छ । पछिल्लो एक दशकमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या वार्षिक औसत २८.६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार र चालु वर्षको चैत्रसम्म ५ लाख ५७ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । विप्रेषणले अर्थतन्त्रलाई अल्पकालीन रूपमा सन्तुलन दिए पनि दीर्घकालीन रूपमा दक्ष जनशक्ति पलायन र मानव पुँजी ह्रासको जोखिम बढाएको प्रतिवेदनको निष्कर्ष छ।
प्राकृतिक स्रोतको न्यून उपयोग
नेपालको जलविद्युत सम्भावना करिब ८३ हजार मेगावाट रहेपनि हाल ४ हजार १०५ मेगावाट मात्र उत्पादन भएको छ। ९९ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगे पनि आन्तरिक खपत र निर्यात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ।
करिब ४६ प्रतिशत भूभाग वन क्षेत्र भएपनि वैज्ञानिक व्यवस्थापन अभावका कारण अर्बौंको काठ तथा फर्निचर आयात गर्नुपरेको प्रतिवेदनले देखाएको छ । फलाम र चुनढुङ्गा जस्ता खनिज स्रोत भए पनि व्यावसायिक उत्खनन हुन सकेको छैन।
पर्यटन क्षेत्रमा सम्भावना तर पूर्वाधार कमजोरी
पर्यटन क्षेत्रमा सन् २०२५ मा करिब ११ लाख ५८ हजार विदेशी पर्यटक आगमन भएको छ भने औसत बसाइ १६.३४ दिन पुगेको छ । हाल नेपालमा २२२ तारे होटल सहित १६ सयभन्दा बढी होटल सञ्चालनमा छन् र ६४ हजारभन्दा बढी शैय्या क्षमता रहेको छ । तर कमजोर हवाई तथा सडक पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको सीमित सञ्चालन र राष्ट्रिय ध्वजावाहकको कमजोर सेवाका कारण पर्यटन क्षेत्रको पूर्ण क्षमता उपयोग हुन सकेको छैन।


