CLI

अनुसन्धानको बहानामा व्यवसायीमाथि दबाब, निजी क्षेत्र आक्रोशित

काठमाडौं । उद्योगी तथा व्यवसायीहरूलाई अनुसन्धानको नाममा अनावश्यक रूपमा हिरासतमा राख्ने, मानसिक दबाब दिने तथा सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने कार्यप्रति निजी क्षेत्रले गम्भीर आपत्ति जनाएको छ।

नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य उम्मेदवार दुर्गा प्रसाद सुवेदीले व्यवसायीहरु राष्ट्रको अर्थतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरुलाई सम्मानित नागरिकका रुपमा व्यवहार गर्न राज्यसँग माग गरेका छन् । उनले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै व्यवसायीहरूले नियमित रूपमा कर तिर्ने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

सुवेदीले अनुसन्धानपछि दोषी प्रमाणित भएका व्यवसायीमाथि कानुनअनुसार कारबाही गर्न सकिने भए पनि अनुसन्धानकै नाममा खाता रोक्का गर्ने, कारोबार अवरुद्ध गर्ने तथा लामो समयसम्म हिरासतमा राख्ने जस्ता कार्य अनुचित भएको बताएका छन्। यस्ता गतिविधिले व्यवसाय चौपट पार्नुका साथै देशको लगानी वातावरणमा नकारात्मक असर पर्ने उनको भनाइ छ।

उनले व्यवसायीलाई अपराधीको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै राज्य र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण आवश्यक रहेको बताए। “यी दुई पक्ष एक–अर्काका साझेदार हुन्, प्रतिपक्ष होइनन्,” उनले भने।

हालको अवस्थामा उद्योगी–व्यवसायीहरूको आत्मसम्मान, हक–अधिकार र मर्यादाको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले यस विषयमा निजी क्षेत्र एकजुट भएर आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे। सुवेदीले नेपाल सरकारसँग अनुसन्धान प्रक्रियालाई पारदर्शी, न्यायसंगत तथा व्यवसाय–मैत्री बनाउन तथा व्यवसायीहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।

Leave Your Comment

Related News