CLI
Global College

नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओ नियुक्ति अन्तिम चरणमा, १४ उम्मेदवारले दिए आवेदन, बुधबारसम्म ६ जना सर्टलिस्ट हुने

काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीले वैशाख ११ गते सीईओ पदका लागि आवेदन आह्वान गरेको थियो। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ को दफा १३ को उपदफा (२) बमोजिम आवेदन माग गरिएकोमा प्राप्त दरखास्तमध्ये न्यूनतम योग्यता पुगेका १४ जना उम्मेदवारको रहेका छन् ।

कामेश्वर यादव, प्रभाकर थापा, रन्जन ढुङ्गेल, कौसल के.सी., विष्णु गुप्ता गौतम, सचिन अवाले, प्रविण जङ्ग थापा, अशोक कुमार श्रेष्ठ, विश्वामित्र सञ्जेल, डा. उमेशजङ्ग थापा, रामचन्द्र काफ्ले, लवप्रसाद जोशी, कृष्णप्रसाद सापकोटा र छविराज पोखरेल उम्मेदवार रहेका छन् ।

पूर्वाधार विकास मन्त्रालयका एक उपसचिवका अनुसार ती उम्मेदवारमध्ये ६ जनाको नाम बुधबार (जेठ १३ गते)सम्म सर्टलिस्ट गरिनेछ। त्यसपछि सर्टलिस्टमा परेका उम्मेदवारहरुको नाम मन्त्रिपरिषद्मा पठाइने र अन्तिम निर्णय क्याबिनेटबाट हुनेछ ।

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो। ठूला राष्ट्रिय पूर्वाधार आयोजना निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यसहित कम्पनी स्थापना गरिएको हो। कम्पनीले सडक, पुल, सुरुङमार्ग, द्रुतमार्ग, रेलमार्ग, विमानस्थल तथा अन्य ठूला संरचना निर्माणमा काम गर्ने लक्ष्य लिएको छ ।

सरकारी आयोजना निर्माणमा हुने ढिलाइ, लागत वृद्धि तथा निजी ठेकेदारमाथिको अत्यधिक निर्भरता कम गर्ने उद्देश्यले कम्पनीलाई विशेष संरचनाका रूपमा अघि बढाइएको सरकारी भनाइ छ। कम्पनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको छ । हाल कम्पनीमा सीईओ पद रिक्त रहेकाले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो ।

Leave Your Comment

Related News