काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल आज हुँदैछन । आज घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र काजखस्तान भीड्नेछन् ।
८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमशः समूह ए को विजेता र उपविजेता तथा इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
समूह बी को विजेता इरान र समूह ए को उपविजेता नेपालबीच साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दोस्रो सेमिफाइनल हुनेछ । इरानले समूह बी मा खेलेको तीनवटै खेल जितेको थियो ।
यसअघि सन् २०२४ मा काठमाडौंमा भएको प्रतियोगितामा इरान र नपालबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए ।
नेपाल र इरानको खेल अघि समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमै हुनेछ । भारतले सन् २०२४ मा काठमाडौं भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान यो च्याम्पियनसिप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टिम हो ।
समूह ए मा भारतले ३ वटै खेल जितेर अपराजित थियो भने काजखस्तान समूह बी मा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो ।


