काठमाडौं । सरकारले क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गरेको बताएको छ । े क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गर्ने क्रममा सरकारले नियामक निकायहरूले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणविरुद्ध (एएमएल÷सीएफटी) निर्देशिका जारी गरेका, सुपरिवेक्षण सुरु गरेका, नियामकीय कारबाही गरेका तथा वित्तीय सूचना एकाइको गोएएमएल प्रणालीमा रिपोर्टिङ गर्ने संस्थाहरूको दर्ता विस्तार गरेको जनाएको छ । त्यसैगरी नेपाल बार काउन्सिल, नेपाल नोटरी पब्लिक काउन्सिल र यातायात व्यवस्था विभागले भने आफ्ना रिपोर्टिङ संस्थाका लागि एएमएल÷सीएफटी निर्देशिका जारी गर्न बाँकी रहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुधार गर्नुपर्ने संस्थाहरूमा रोकथामसम्बन्धी उपायहरू लागू छन्, तर ती अझै सामान्य प्रकृतिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको बताएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणविरुद्धका लागि विभिन्न संस्थाहरूमा रोकथामसम्बन्धी उपायहरू लागू छन्, तर ती अझै सामान्य प्रकृतिका छन् र सबै क्षेत्रमा समान रूपमा जोखिममा आधारित हुन सकेका छैनन्। ग्राहकको विस्तृत पहिचान मुख्यतः ग्राहकले उपलब्ध गराएको सूचनामा निर्भर छ। राष्ट्रिय परिचय, आधारभूत तथा वास्तविक लाभग्राही , राजनीतिक रूपमा प्रभावशाली व्यक्ति तथा प्रतिकूल सूचनासम्बन्धी अभिलेखमा डिजिटल पहुँचको व्यवस्था अझै निर्माणको क्रममा छ। यस्तो पहुँच उपलब्ध गराउन सके सबै क्षेत्रमा ग्राहक पहिचान तथा जाँचको गुणस्तर सुधार हुनेछ,’ प्रतिवेदनमा भनिएको छ ,‘क्षमता विकासका लागि स्रोतसाधन उपलब्ध छन्। ती स्रोतलाई जोखिमको आधारमा लक्षित गरेर प्रयोग गर्न सके अझ प्रभावकारी परिणाम प्राप्त हुनेछ।’
सुपरिवेक्षणमा जोड
सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणविरुद्ध नियमपालनसम्बन्धी सुपरिवेक्षण व्यवस्था राम्रोसँग स्थापित भइसकेको छ। अबको चरण भनेको प्रभावकारितामा केन्द्रित जोखिममा आधारित सुपरिवेक्षणलाई थप सुदृढ गर्नु रहेको प्रतिवेदनले जनाएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धि रिपोर्टिङ संस्थाहरूको संस्थागत जोखिम प्रोफाइलिङ सुरु गरिएको छ । यो व्यवस्था पूर्ण रूपमा लागू भएपछि निरीक्षणको आवृत्ति, दायरा र तीव्रता सम्बन्धित संस्थाको मूल्याङ्कन गरिएको जोखिमअनुसार निर्धारण गर्न सकिनेछ।
धेरै क्षेत्रमा अफ–साइट सुपरिवेक्षण प्रारम्भिक चरणमा छ र हाल मुख्यतः म्यानुअल विश्लेषणमा निर्भर छ। रियल इस्टेट, ट्रस्ट तथा कम्पनी सेवा प्रदायक, सवारीसाधन विक्रेता, वकिल तथा नोटरी क्षेत्रमा पहिलो चरणको निरीक्षण भइरहेको वा सुरु हुने क्रममा छ। विभिन्न क्षेत्रहरूले एएमएल÷सीएफटी अनुपालनप्रति बढ्दो प्रतिबद्धता र सक्रियता देखाएका छन्। सक्षम निकाय, सुपरिवेक्षक, कानुन कार्यान्वयन गर्ने निकाय तथा वित्तीय सूचना इकाइबीच थप घनिष्ठ समन्वय हुन सकेमा यी प्रयासलाई अझ प्रभावकारी बनाउन सकिने देखिएको छ।
शंकास्पद कारोबार प्रतिवेदन
बैंकिङ क्षेत्रमा शंकास्पद कारोबार प्रतिवेदन प्रणाली राम्रोसँग स्थापित भइसकेको छ। सहकारी, बहुमूल्य धातु तथा पत्थरका कारोबारी, रियल इस्टेट, क्यासिनो तथा व्यावसायिक÷पेसागत क्षेत्रबाट हुने प्रतिवेदन भने अझै प्रारम्भिक चरणमा छन्। ती क्षेत्रका अभिलेखले वास्तविक जोखिमको स्तरभन्दा हालसम्म पत्ता लगाउन सकिएको गतिविधिको स्तरलाई बढी प्रतिबिम्बित गर्छन् प्रतिवेदनमा भनिएको छ । त्यसैगरी सबै क्षेत्रबाट हुने प्रतिवेदनमा कानुनी व्यक्ति÷संस्थाको दुरुपयोग, सीमापार गतिविधि तथा आपराधिक÷वित्तीय सञ्जालबीचको सम्बन्धसम्बन्धी जानकारीलाई थप समेट्न आवश्यक छ।
हालसम्म सुपरिवेक्षकहरूले मुख्यतः सुधारात्मक उपाय र मार्गदर्शनमा जोड दिएका छन्। समानुपातिक तथा निरुत्साहजनक प्रकृतिका नियामकीय सजायको प्रयोग बढ्दै गएको छ। यस्ता सजायलाई निरन्तर र समान रूपमा लागू गर्न सके कानुन उल्लङ्घन रोक्न थप प्रभावकारी प्रतिरोधात्मक प्रभाव पर्ने देखिएको छ।




