Global College

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्से जोड्ने पुल निर्माण भएपछि दुवै पालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ।

बाह्रबिसे नगरपालिका–१ का वडाध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार पुल निर्माणअघि वर्षायाममा बाढी, पहिरो र खोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो। विशेषगरी विद्यालय जाने विद्यार्थी बढी प्रभावित हुने गरेका थिए।

“यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी मात्र नभई विभिन्न स्थानबाट आउने मानिसलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो”, उनले भने, “पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ।”

पुल नहुँदा बजार जानसमेत लामो र अप्ठ्यारो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पौडेलले बताए। उनका अनुसार पहिले डेढ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था रहेकामा पुल बनेपछि आवतजावत सहज भएको छ। पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउनुका साथै दुई पालिकाबीचको सम्पर्कसमेत बलियो बनाएको छ।

प्राकृतिक तथा ग्रामीण सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि पुलले सहयोग पुर्‍याउने अपेक्षा गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए। उनले पुल निर्माणले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन र पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

NECO

Leave Your Comment

Related News