नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती वस्ती जोखिममा परेका हुन् ।
जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका–४ को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार १०० भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती जोखिममा परको हो ।
हालैको बाढीबाट विदुर नगरपालिका–१ को बान्द्रे, वडा नं ४ स्थित बसपार्क, बेलकोटगढी नगरपालिका–७ स्थित छब्बिसेको बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ ।
नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ रेग्मीले जानकारी दिए ।
नदीले कटानको बस्तीसहित उक्त स्थानमा रहेका सामुदायिक तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ । बेलकोटगढी–७ को छब्बिसेमा बस्तीसहित गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको गल्छी–देवीघाट सडक खण्डलाई क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भदौ १० को बाढीबाट बचेको संरचनालाई समेत निरन्तर नदी कटानका कारण प्रभावित तुल्याएको छ । अहिले गल्छी–देवीघाट सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
नदीको कटानले स्थानीय बसपार्कसहित नेपाल विद्युत् प्राधिकरणले उक्त स्थानमा निर्माण गरेको ‘चार्जिङ स्टेशन’, विदुर नगरपालिकाले निर्माण गरेको कोसेली घरसहितको संरचना पनि जोखिममा परेको छ ।
यसैबिच, भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीले जग्गा कटान गरेको, भवनसहितका भौतिक संरचना ध्वस्त बनाएको अवस्थामा बाढीबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।



