काठमाडौं । दशैँ अघि २५ वटा म्युचुअल फन्डहरूले गत आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् । म्युचुअल फन्डले लेखापरीक्षण सम्पन्न गरी आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । ती फन्डले नगद लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमध्ये सबैभन्दा बढी प्रतिफल हिमालयन ८०–२० ले घोषणा गरेको छ । फण्डले आफ्ना लगानीकर्ताका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै घोषणा गरेको फन्डहरुमध्ये सबैभन्दा कम नबिल ब्यालेन्स्ड फन्ड–३ ले २.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
त्यस्तै लाभांश घोषणा गरेका योजनामध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१, प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान १२ प्रतिशत लाभांश दिने भएका छन् । त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले १० प्रतिशत लाभांश घोषणा गरेका छन् । रिलायबल समृद्धि योजनाले ८.४२११ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एमबीएल इक्विटी फन्डले समान ८ प्रतिशत तथा आरबीबी म्युचुअल फन्ड–२ ले ६ प्रतिशत लाभांश दिने भएका छन् ।
त्यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र एनएमबी सरल बचत फन्ड–ईले समान ५.२५ प्रतिशत, सानिमा ग्रोथ फन्डले ५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ४.७ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फन्ड र एनएमबी हाइब्रिड फन्ड एल–२ ले समान ४.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३.५ प्रतिशत, एनएमबी ५० ले ३.१५ प्रतिशत, सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमले ३ प्रतिशत, कुमारी सबल योजनाले २.९ प्रतिशत, आरबीबी म्युचुअल फन्ड–१ ले २.७५ प्रतिशत र मुक्तिनाथ म्युचुअल फन्ड–१ ले २.२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
यस वर्ष सबै म्युचुअल फन्डले लाभांश दिन सक्ने अवस्था भने छैन । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्ड–२ ले यस वर्ष लाभांश नदिने भएका छन् । म्युचुअल फन्डहरूले संकलित रकमको ठूलो हिस्सा धितोपत्र बजारमा लगानी गर्छन् । सेयर बजारमा भएको कारोबार तथा लगानीबाट प्राप्त नाफाका आधारमा इकाइधनीलाई लाभांश वितरण गर्ने गरिन्छ । तर, पछिल्लो समय सेयर बजार नै शंकुचनको अवस्थामा रहेको छ ।
म्युचुअल फन्डका बन्दमुखी र खुलामुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन् । बन्दमुखी योजनामा बुक क्लोजको मितिअनुसार लाभांश पाउने इकाइधनी निर्धारण गरिन्छ र घोषित लाभांश सामान्यतः बैंक खातामा जम्मा हुन्छ ।




