काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई एक अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार त्यहाँको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको सो ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरे।
यो ड्रोन विशेष गरी मानिस पुग्न नसक्ने अँध्यारा र साँघुरा सुरुङभित्र सजिलै उड्न र अवलोकन गर्न सक्षम छ। फ्लाईबिलिटीका ड्रोनमा विशेष घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि नखसी निरन्तर उडान भर्न सक्छ।
नयाँ प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका मानिसको उद्धार गर्न धेरै सहज हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।



