काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति युरोपेली फुटबल महासङ्घ ले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ।
युइएफएका अध्यक्ष अलेक्ज्याण्डर सेफेरिनले एक सन्देश जारी गर्दै यसै साता हुने युरोपेली फुटबलका खेलहरू सुरु हुनुअघि युरोपेली फुटबल परिवार एकजुट भई नेपालका विपद् पीडितहरूप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्ने घोषणा गरेका छन्।
युइएफए अध्यक्ष सेफेरिनले भने “नेपाली जनताप्रति हाम्रो गहिरो समवेदना र समर्थन व्यक्त गर्न यो साताका खेलहरू सुरु हुनुअघि सम्पूर्ण युरोपेली फुटबल परिवार एकजुट भएर उभिनेछ। यस त्रासदी र यसको असरबाट पुनरुत्थानको दिशामा अघि बढिरहेका नेपाली जनतालाई धैर्य र शक्ति मिलोस् भन्ने कामना गर्दछौँ।”
यससँगै युरोपमा यो साता हुने विभिन्न अन्तर्राष्ट्रिय तथा क्लबस्तरीय फुटबल प्रतियोगिताका खेलहरू सुरु हुनुअघि बाढीपहिरोका मृतकहरूको सम्झनामा मौनधारण वा शोक मनाइने भएको छ।




