RE
Global College

कृष्णभिर क्षेत्रको दीर्घकालीन समाधानतर्फ तत्कालै काम अघि बढाउनु आवश्यक छ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृष्णभिर क्षेत्रको दीर्घकालीन समाधानतर्फ तत्कालै काम अघि बढाउनु आवश्यक रहेको बताएका छन् ।

नेपालका विभिन्न भागलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्रयाक खोली दुईतर्फी सडक सञ्चालनमा आएसँगै उनले सो कुरा बताएका हुन् । गत भदौ १० गते रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले सडक कटान गरेपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो।

अध्यक्ष घिसिङका अनुसार कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ। ‘विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्छ। साथै, सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने ।

कृष्णभीरमा सडक अवरुद्ध हुँदा आवागमन मात्र प्रभावित भएन, दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रत्यक्ष असर परी उपभोक्तासम्म पुग्ने सामग्रीको मूल्यमा समेत चाप परेको थियो। हाल नयाँ ट्रयाकमार्फत सडक दुईतर्फी सञ्चालनमा आउनु विपदबाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण उपलब्धि हो।

उनले विपद्को सामना गरिरहेको कठिन समयमा सडक सुचारु गरेकोमा सरकारको प्रशंसा गरेका छन् । ‘मुलुकले ठूलो विपद्को सामना गरिरहेको कठिन समयमा सडक सुचारु गर्न अहोरात्र खटिनुभएका भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, स्थानीय तहका जनप्रतिनिधि, निर्माण व्यवसायी, सुरक्षाकर्मी, प्राविधिक तथा श्रमिकलगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ,‘ प्रतिकूल मौसम, जोखिमयुक्त भूगोल र निरन्तर चुनौतीका बाबजुद फिल्डमै रहेर काम गर्नुहुने सडक विभागका प्राविधिक तथा कर्मचारी, नौबिसे–मुग्लिङ सडक आयोजनाका टोली, निर्माण व्यवसायी तथा श्रमिकहरू, सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयवासीहरूको निरन्तर प्रयास प्रशंसनीय छ। विपद्का बेला समयमै जुट्ने यस्तै सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई ठूलो राहत र भरोसा प्रदान गर्छ। सबैको निरन्तर समन्वय, सक्रियता र प्रतिबद्धताबाट बाँकी प्रभावित सडक तथा पूर्वाधारहरू पनि यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास छ।’

उनले बट्टारदेखि वेत्रावति हुंदै धुन्चे स्याप्रुवेसीसम्म मोटर बाटो छिटो संचालनमा ल्याउन सम्वन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक रहेको समेत बताएका छन् ।

Leave Your Comment

Related News