काठमाडौं । फ्रान्समा प्रमुख संवेदनशील तथा पर्यटकीय क्षेत्रमा भेला हुन र प्रदर्शन गर्न प्रतिब लगाएको छ । थप प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राख्दै पेरिस प्रहरीले बिहीबार राजधानीका विभिन्न ठाउँमा प्रतिबन्ध लगाएको हो ।
प्रहरीका अनुसार, एलिसे राष्ट्रपतीय भवन, बास्टिल स्क्वायर, संसद्का दुवै सदन, लुभ्र संग्र्रहालय र च्याम्प्स–एलिसे क्षेत्रमा स्थानीय समयअनुसार बिहान ८ देखि राति ८ बजेसम्म प्रदर्शन गर्न पाइने छैन ।
गत सातान्तमा देशभर फैलिएको हिंसा र अराजकतापछि फ्रान्सेली अधिकारीहरू सुरक्षा व्यवस्था सुदृढ बनाउन जुटेका छन् । महँगी नियन्त्रण र शिक्षा सुधारको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको आन्दोलन उग्र बनेपछि नकाबधारी प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग हिंसात्मक झडप गरेका थिए ।
सोमबार गृहमन्त्री लोरेन्ट नुनेजले स्थिति नियन्त्रणबाहिर गएको र हिंसाको भयावह रूपको पूर्वानुमान गर्न नसकिएको स्वीकार गरेका थिए ।
‘आप्रवासी, जिहादी र कम्युनिस्ट’ माथि ट्रम्पको आरोप, म्याक्रोनद्वारा आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको अशान्तिका लागि आप्रवासी, जिहादी र कम्युनिस्टहरूलाई जिम्मेवार ठहर गरेका छन् । उनीहरूले फ्रान्सलाई कब्जा गरेको, लुटपाट मच्चाएको र ध्वस्त पारेको आरोप ट्रम्पले लगाएका छन् । मध्यवधि निर्वाचनको प्रचारका क्रममा उनले म्याक्रोनलाई आप्रवासनबारे पहिल्यै चेतावनी दिएको, तर फ्रान्सेली राष्ट्रपतिले सीमा बन्द गर्न अस्वीकार गरेको बताएका थिए ।
फ्रान्सका सहरहरूमा पछिल्ला दुई रात तुलनात्मक रूपमा शान्त रहे पनि जलेका कार, फुटेका पसलका सिसा र लुटिएका भवनका तस्बिरलाई म्याक्रोन सरकारमाथि राजनीतिक दबाब बढाउन प्रयोग गरिएको बताइएको छ ।
बुधबार कतार भ्रमणका क्रममा म्याक्रोनले ट्रम्प र सम्भवतः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फ्रान्सको अशान्तिबाट राजनीतिक लाभ लिन खोजेको आरोप लगाए । यसै साताको सुरुआतमा नेतान्याहूले पनि फ्रान्समा ‘उग्रवादी इस्लामको आक्रमण’ भएको टिप्पणी गरेका थिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै म्याक्रोनले फ्रान्सलाई चुनावी प्रचारको विषय बनाउने नेताहरूको आलोचना गरे । ती नेताहरू मध्यपूर्वका होऊन् वा अमेरिकाका, उनीहरू चुनावी स्वार्थबाट प्रेरित रहेको उनको भनाइ थियो । आफ्नो टिप्पणी ट्रम्पप्रति लक्षित हो कि भन्ने प्रश्नमा उनले भने, “अन्यका साथै उहाँप्रति पनि हो ।”
म्याक्रोनले फ्रान्सको संकटबारे गलत र भ्रामक सूचना फैलाइएको आरोप लगाउँदै वास्तवमा नभएका घटनाका तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको बताए । यस्ता सामग्रीका आधारमा विदेशी नेताहरूसहित विभिन्न व्यक्तिले अनुचित र मूर्खतापूर्ण टिप्पणी गरेको उनको भनाइ थियो ।
“हामीमाथि आप्रवासी र इस्लामवादीहरूको जत्थाले आक्रमण गरेको दाबी गर्ने मानिसहरू देखा परेका छन्, जुन पूर्ण रूपमा झूटो र निराधार हो,” म्याक्रोनले भने ।




