काठमाडौं । कोमोसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकमाथि दबाब बढेको छ। युरोपेली फुटबलमा युनाइटेडका लागि यो हार इतिहासकै खराबमध्ये एक बनेको छ। कोमाले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। अर्जेन्टिनी प्लेमेकर निको पाजले खेल सुरु भएको ११८ सेकेन्डमै गोल गर्दै युनाइटेडको रक्षापंक्तिलाई तोडेका थिए।
एट्लेटिको म्याड्रिडविरुद्ध ८ दिनअघि पनि पहिलो मिनेटमै गोल बेहोरेको युनाइटेडले लगातार दुई प्रमुख युरोपेली खेलमा सुरुवाती दुई मिनेटभित्र गोल खाने पहिलो इंग्लिस टोलीको कीर्तिमान बनायो। पाजको सहयोगमा ४९ औं मिनेटमा टासोस डुभिकासले गोल गरे। पाजले ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।
त्यसपछि ७६ औं मिनेटमा ज्याकोबो रामोनले हेडरमार्फत गोल गरेपछि कोमोले ४–० को अग्रता बनायो। खेलमा कोमो पूर्ण रूपमा हाबी हुँदा युनाइटेडले कमजोर देखियो। सन् २००८ मा युनाइटेडले च्याम्पियन्स लिग जित्दा कोमो इटालीको चौथो डिभिजनमा खेलिरहेको थियो। तर, अहिले दुई क्लबको अवस्था र प्रगतिको दिशाबीचको अन्तर मैदानमा स्पष्ट देखियो
युनाइटेडले १९६४ मा पोर्चुगलको स्पोर्टिङसँग ५–० को हार बेहोरेको थियो। कोमोसँगविरुद्ध एक समय युनाइटेड उक्त खराब कीर्तिमान बराबरी गर्ने अवस्थामा पुगेको थियो। दोस्रो हाफको मध्यतिर कप्तान ब्रुनो फर्नान्डेसलाई जोसुवा जिर्कजीले प्रतिस्थापन गरे। त्यसअघि पहिलो हाफपछि नै माटेउस कुन्हा र आन्द्रे सान्तोसलाई मैदानबाट बाहिर बोलाइएको थियो।
इन्जुरी समयमा अमाद डियालोको क्रसमा जिर्कजीले गोल गर्दै युनाइटेडका लागि सान्त्वना गोल फर्काए। तर, त्यसले टोलीको निराशाजनक प्रदर्शन र हारको पीडा कम गर्न सकेन। खेलपछि समर्थकलाई अभिवादन गर्न पुगेका क्यारिकले आफ्ना खेलाडीलाई बेवास्ता गर्दै पटक–पटक हात उठाएर समर्थकसँग माफी मागेका थिए।
उनको यो व्यवहारले सन् २०२१ मा वाटफोर्डसँग ४–१ ले पराजित भएपछि समर्थकसँग माफी मागेका तत्कालीन प्रशिक्षक ओले गनर सोल्सायरको सम्झना गरायो। उक्त हारको २४ घण्टापछि सोल्सायरलाई पदबाट बर्खास्त गरिएको थियो।




