RE
Global College

बाँसका सामग्री बनाएर जीविका चलाउने डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । परिश्रम धेरै गर्नुपर्ने तर आम्दानी न्यून हुने र बाँसका सामग्रीको बिक्रीसमेत मौसमी हुने भएकाले यस समुदायलाई परिवारको खर्च धान्न कठिन हुँदै गएको छ ।

बाँसका सामग्री बनाउने पेसा पुर्ख्यौली भए पनि बढ्दो महँगी र सीमित आम्दानीका कारण दैनिक गुजारा चलाउन समस्या हुँदै आएको तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकले बताए । “विवाह र चाडपर्वको बेला ठिकै आम्दानी भए पनि अन्य समयमा दुई छाक टार्नसमेत समस्या हुँदै आएको छ । बाँसको सामान बनाउन समय धेरै लाग्ने र दाम भनेजस्तो पाउन नसकेपछि समस्या हुँदै आएको छ,” उनले भने ।

ढक्की, कोनियालगायत सामग्री बनाउन एउटा बाँस किन्दा २०० देखि ३०० रुपैयाँसम्म खर्च लाग्छ । दिनभरिमा एउटा बाँसबाट तीनवटा सामग्री बनाउँदा एक हजार रुपैयाँसम्म आम्दानी हुने भजु बताउँछन् । खर्च कटाउँदा सिजनमा दैनिक ७०० रुपैयाँभन्दा बढी बचत हुने भए पनि अन्य समयमा सामग्री बिक्री गर्न मुस्किल हुने गरेको उनको भनाइ छ ।

उनका छोराहरूले यही पेसाबाट जसोतसो जीविकोपार्जन गरिरहेका छन् । तर, मेहनत धेरै र आम्दानी कम हुने भएकाले नातिहरू भने यो पेसा छाडेर अन्य पेसातर्फ लाग्न थालेका छन् । समुदायभित्र रहेको क्षेत्रगत बिक्रीको नियमले पनि पेसा गर्न कठिन भएको भजु बताउँछन् । “हाम्रो जातले बनाएको नियमअनुसार आफ्नो क्षेत्रबाहेक अन्यत्र गएर आफूले बनाएको सामग्री बिक्रीवितरण गर्न पाइँदैन । यसले पनि हाम्रो समुदायलाई यो पेसामा टिक्न समस्या भएको छ,” उनले भने ।

राजविराज नगरपालिका–१३ की रिना मरिक पनि क्षेत्रगत सीमाका कारण बाँसका सामग्री बिक्री गर्न समस्या हुने बताउँछिन् । उनका श्रीमान् अपाङ्गताका कारण काम गर्न नसक्ने भएकाले परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ ।

“बाँसका सामग्री सिजनमा मात्र खरिदबिक्री हुने भएकाले अन्य बेला छाक टार्नै समस्या हुन्छ । त्यसैले सिजनबाहेकका समयमा अन्य काम गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ,” उनले भनिन् । जिल्लाका दलित अभियन्ता युक्ति मरिकका अनुसार यामबाहेकका समयमा आम्दानीको स्रोत नहुँदा मरिक समुदायका मानिस पुर्ख्यौली पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।

“हाम्रो समुदायको पेसालाई दिगो बनाउन व्यावसायिक रूपमा आर्थिक सशक्तीकरणका लागि सरकारले ध्यान दिन आवश्यक छ,” उनले भने । पुर्ख्यौली सीप र परम्परासँग जोडिएको बाँसका सामग्री बनाउने पेसालाई दिगो बनाउन बजारको पहुँच विस्तार, व्यावसायिक प्रवर्द्धन र आर्थिक सशक्तीकरणमा ध्यान दिनुपर्ने समुदायका अगुवाहरूको भनाइ छ ।

NECO

Leave Your Comment

Related News