काठमाडौं । मध्यपूर्वमा बढ्दो सुरक्षा तनाव र हुती विद्रोहीहरूको आक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतीय विमान सेवा कम्पनीहरूले साउदी अरेबियाका विभिन्न सहरमा हुने उडान स्थगनको अवधि थप गरेका छन्।
एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस र अकासा एयरले सुरक्षा अवस्थाको समीक्षा गर्दै रियाद, दम्माम र जेद्दाका लागि निर्धारित उडानहरू नोभेम्बरसम्म स्थगित गर्ने निर्णय गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले रियाद तथा दम्मामका लागि हुने उडान स्थगनको अवधि सन् २०२६ नोभेम्बर ७ सम्म थप गरेका छन्। त्यस्तै, जेद्दाबाट हुने उडानहरू अक्टोबर ३१ सम्मका लागि स्थगित गरिएको छ।
साउदी अरेबियाका विमानस्थल, ऊर्जा संयन्त्र तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी भइरहेका ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सुरक्षा जोखिम बढेको भन्दै एयरलाइन्सहरूले यस्तो निर्णय लिएका हुन्।
यसअघि अकासा एयरले पनि अक्टोबर २३ मा साउदी अरेबियातर्फका उडान स्थगित गर्ने घोषणा गरेको थियो। कम्पनीले जेद्दाका लागि हुने उडान नोभेम्बर १० र रियादका लागि हुने उडान नोभेम्बर ३०, २०२६ सम्मका लागि स्थगित गरेको छ।
अकासा एयरले सुरक्षा अवस्थाको सूक्ष्म मूल्याङ्कनपछि उडान स्थगित गर्ने निर्णय लिइएको जनाएको छ। कम्पनीले मध्यपूर्वको परिस्थितिलाई नजिकबाट नियालिरहेको र वास्तविक समयमै सुरक्षा अवस्थाको मूल्याङ्कन गरिरहेको बताएको छ।
क्षेत्रीय सुरक्षा तनावका कारण उडान तालिकामा परिवर्तन हुँदा साउदी अरेबिया जाने तथा त्यहाँबाट अन्य गन्तव्यमा यात्रा गर्ने यात्रु प्रभावित हुन सक्नेछन्। त्यसैले यात्रुहरूलाई यात्रा गर्नुअघि सम्बन्धित विमान सेवा कम्पनीसँग उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन सुझाव दिइएको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोग




