काठमाडौं । दसैँमा पाउने बोनस र प्राप्त हुने दक्षिणालाई सही ठाउँमा सदुपयोग गर्न सके यसले दीर्घकालीन वित्तीय सुरक्षा निर्माण गर्न सक्छ। धेरैजसो मानिसहरू दसैँमा पाएको बोनस वा अतिरिक्त आम्दानीलाई उपभोग्य वस्तुहरू खरीद गर्नमै खर्च गर्ने गर्छन्। तर, यही रकमलाई अलिकति योजनाबद्ध रूपमा सेयर बजारमा लगानी गर्ने हो भने यसले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ। विशेष गरी सेयर बजारमा भर्खरै प्रवेश गर्न चाहने साना लगानीकर्ताहरूका लागि ३ सय रुपैयाँभन्दा कम मूल्य भएका सेयरहरू एउटा उत्कृष्ट र सुरक्षित विकल्प बन्न सक्छन्।
नेपालको सेयर बजार (नेप्से) मा हाल जलविद्युत् , वित्त , तथा केही वाणिज्य बैंक र उत्पादनमूलक क्षेत्रका धेरै कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कममै उपलब्ध छ। दसैँ बोनस र दक्षिणाको सानो हिस्सा, जस्तै ५ हजारदेखि १० हजार रुपैयाँ मात्रै बचाएर लगानी गर्ने हो भने पनि ३सय रुपैयाँभन्दा कम मूल्यका २० देखि ३० कित्तासम्म सेयर सहजै किन्न सकिन्छ। यसरी थोरै पुँजीबाट सुरुआत गर्दा जोखिम पनि कम हुन्छ र सेयर बजारको व्यावहारिक अनुभव पनि प्राप्त हुन्छ।
यसरी सेयरमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, प्रतिसेयर आम्दानी , र कम्पनीको भविष्यको सम्भावनालाई ध्यान दिनु आवश्यक हुन्छ। ३स य रुपैयाँमुनिका सबै कम्पनीहरू उस्तै हुँदैनन्, त्यसैले राम्रो प्रतिफल दिने र वित्तीय रुपमा सबल रहेका जलविद्युत् वा बैंकका सेयरहरू छनोट गर्न सक्नु हुने छ । दसैँको बोनस र दक्षिणालाई सामान्य खर्चमा मात्र सीमित नराखी यसरी सेयरमा रूपान्तरण गर्दा देशको पुँजी निर्माणमा सहयोग पुग्नुका साथै व्यक्तिगत रूपमा आर्थिक आत्मनिर्भरता र बचत गर्ने बानीको विकास हुन्छ। हाल नेप्सेमा ३ सय रुपैयाँभन्दा कम मूल्य भएका ४६ वटा कम्पनीका सेयरहरू रहेका छन्।
रसुवागढीको सेयर सबैभन्दा सस्तो
नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा कम मूल्यको सेयर रसुवागढी हाइड्रोपावरको रहेको छ। कात्तिक ९ गतेको अन्तिम कारोबारअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ ७० पैसा छ। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले कम्पनीको आयोजनामा ठूलो क्षति पुर्याएपछि यसको सेयर मूल्यमा उच्च गिरावट आएको हो।
त्यसपछि दोस्रो कम मूल्यको सेयर प्रभु बैंकको छ। कात्तिक ९ गतेको अन्तिम कारोबारमा उक्त बैंकको सेयर प्रतिकित्ता १८९ रुपैयाँ ६० पैसामा कारोबार भएको छ।
यता ३०० रुपैयाँको नजिक पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सेयर सबैभन्दा महँगो रहेको छ। यसको सेयर मूल्य २९८ रुपैयाँमा कारोबार बन्द भएको छ। यसपछि बुटवल पावर कम्पनी २९१ रुपैयाँ ३० पैसा र त्रिशूली जलविद्युत् २८० रुपैयाँमा रहेका छन्।





