RE
Global College

इजरायलमा आज आम निर्वाचन, नेतान्याहुको सत्तामा असर पर्ला ?

काठमाडौं । इजरायलमा आज मंगलबार (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ ।

सन् १९९६ देखि हालसम्मको बीचमा नेतान्याहु विभिन्न अवधिमा करिब १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन् । उनका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसपटकको निर्वाचनमा नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट आफ्नो नयाँ मध्यमार्गी पार्टी ‘याशर’सहित मैदानमा छन् । गाजामा युद्ध चलिरहेका बेला आइजेनकोटले आफ्ना छोरा गुमाएका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र नेतान्याहुका पूर्वसहयोगी तथा पूर्वकमाण्डो यायर लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन् । पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यान पनि नेतान्याहुका प्रमुख आलोचकका रूपमा देखिएका छन् । कुनै समय नेतान्याहुका निकट सहयोगी रहेका लिबरम्यान नेतृत्वको ‘इजरायल अवर होम’ पार्टीलाई पूर्वसोभियत संघबाट इजरायल आएका आप्रवासी समुदायको उल्लेख्य समर्थन रहेको छ ।

दक्षिणपन्थी नेताहरूको साथमा नेतान्याहु

नेतान्याहुको सरकारलाई अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरजस्ता दक्षिणपन्थी नेताहरूको समर्थन प्राप्त छ । उनीहरू प्यालेस्टिनीहरूप्रति अपनाइएका कठोर नीतिहरू र पश्चिम किनारमा इजरायली बस्ती विस्तारको समर्थनका कारण अन्तर्राष्ट्रिय आलोचनामा पर्दै आएका छन् ।

इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । निर्वाचनमा नेतान्याहुको नेतृत्वमा रहेको राजनीतिक गठबन्धनले कति सिट जित्छ भन्ने विषयले आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ । विपक्षी दलहरूबीचको सहकार्य र साना दलहरूको समर्थन पनि सरकार गठनका लागि निर्णायक हुन सक्ने बताइएको छ ।

NECO

Leave Your Comment

Related News