काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सोमबार बालोन डी’ओर जित्दै २५ वर्षपछि यो प्रतिष्ठित अवार्ड जित्ने इंग्लिस खेलाडी बनेका छन्।गत सिजन क्लब र राष्ट्रिय टोलीका लागि गरी ७३ गोल गरेका बायर्न म्युनिखका स्ट्राइकर केन युरोपका सर्वाधिक गोलकर्ता बनेका थिए।
केनले अवार्डको प्रतिस्पर्धामा फ्रान्सका किलियन एमबाप्पे, स्पेनका लामिन यमल, सन् २०२४ का विजेता रोड्री र कीर्तिमानी आठपटकका विजेता लिओनेल मेसीलाई पछि पारे। लगातार तेस्रो वर्ष उत्कृष्ट युवा प्रतिभाको अवार्ड जितेका यमल मतदानमा तेस्रो स्थानमा रहे।
३३ वर्षीय केनले व्यक्तिगत सफलताको श्रेय आफ्नो मेहनत, संघर्ष र आत्मविश्वासलाई दिएका छन्। आफ्नो करिअरको सुरुआती कठिनाइ सम्झँदै उनले युवा खेलाडीलाई निरन्तर प्रयास गर्न प्रेरित गरे। ‘अरू कसैले नहेरेको बेला गरिने मेहनत, उतारचढावको सामना गर्ने क्षमता, दृढता र आत्मविश्वासबाट सिक्दै अघि बढे असम्भव केही हुँदैन,’ भावुक हुँदै केनले भने।
उनले आफ्नो यात्रा सहज नभएको पनि बताए। ‘म सिधै शीर्ष स्थानमा पुगेको खेलाडी होइन। मैले कठिन समय पनि भोग्नुपर्यो। अहिले उत्कृष्ट बन्न मैले संघर्ष गर्नुपर्यो। मेरो यात्राले तपाईंहरूलाई पनि प्रेरणा दिने आशा छ,’ उनले युवा खेलाडीलाई सम्बोधन गर्दै भने।
बायर्नलाई दोहोरो उपाधि, विश्वकपमा पनि कीर्तिमान
केनको बालोन डी’ओर यात्रामा व्यक्तिगत गोलसंख्या मात्र होइन, टोलीगत सफलता र कीर्तिमानले पनि महत्त्वपूर्ण भूमिका खेल्यो। उनले गत सिजन बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि दिलाउन योगदान गरे। जर्मन कपको फाइनलमा स्टुटगार्टविरुद्ध ह्याट्रिकसमेत गरेका उनले क्लबका लागि प्रभावशाली प्रदर्शन गरे।
विश्वकपमा पनि केनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले प्रतियोगितामा छ गोल गर्दै इंग्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। यस क्रममा उनले ग्यारी लिनेकरलाई पछि पारे र विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको शीर्ष पाँचमा स्थान बनाए।
सेमिफाइनलमा इंग्ल्यान्ड अर्जेन्टिनासँग पराजित भएको थियो। त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले एम्बाप्पेको फ्रान्सलाई हरायो। यससँगै इंग्ल्यान्डले ६० वर्षयताकै उत्कृष्ट विश्वकप नतिजा हासिल गरेको विवरणमा उल्लेख छ। इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले केनको उपलब्धिको प्रशंसा गर्दै उनलाई टोलीको नेता पाउनुलाई सौभाग्य भनेका छन्।




