Global College

दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ। दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन्।

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो। बर्सेनि सोह्र श्राद्धका बेला हजारौँ तीर्थालु मुस्ताङ आउने गरेका भए पनि यसपटक सडक असहजताका कारण पर्यटकको उपस्थिति हुन सकेको थिएन।

मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसँगै बेनी-जोमसोम सडकमार्गका होटलहरू पर्यटकले भरिन थालेका छन्। यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वाइनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ।

तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए। ललितपुरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरला नाका घुम्न आएको बताए।

NECO

Leave Your Comment

Related News