Global College

२० प्रतिशतले नाफा घटेको निफ्राका को-को छन् ठूला सेयरधनीहरु

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २०.१६ प्रतिशतले घटेको छ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको निफ्रामा विभिन्न व्यक्ति,संस्था, समूह लगायतका सेयर रहेको छ । निफ्रामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकको कुल चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्तापुँजीमध्ये संस्थापक समूहको १२ अर्ब ९६ करोड रुपैयाँ र सर्वसाधारण समूहको ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसअनुसार बैंकको कुल चुक्तापुँजीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा कायम छ ।

निफ्राको सेयर स्वामित्व संरचनाअनुसार ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका २० प्रमुख सेयरधनी रहेका छन् । तीमध्ये नेपाल सरकार, अर्थ मन्त्रालय १० प्रतिशत सेयर स्वामित्वसहित शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, संस्थागत लगानीकर्तातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८.९५ प्रतिशत सेयर स्वामित्वसहित अग्रस्थानमा रहेको छ । वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई बैंकको निफ्रामा सबैभन्दा बढी ५.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

निफ्राको सेयर स्वामित्व संरचनामा सरकारी निकाय, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य सहभागिता देखिएको छ ।

बीमा कम्पनीहरु भने ५ वटा रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल, नेपाल पुनर्बीमा कम्पनी, एसियन लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बैंकका ठूला सेयरधनी रुपमा रहेका बीमा कम्पनी हुन् ।

नेपाल लाइफ बैंकको दोस्रो ठूलो सेयरधनी हो । जसको स्वामित्व ८.९५ प्रतिशत रहेको छ । पहिलो ठूलो सेयरधनी भने अर्थ मन्त्रालय रहेको छ । जसको स्वामित्व १० प्रतिशत रहेको छ ।

बैंकको ७ औँ ठूलो सेयरधनीको रुपमा रहेको एलआईसी नेपालको स्वामित्व ४.२० प्रतिशत, ८औँ ठूलो सेयरधनी रहेको नेपाल पुनर्बीमा कम्पनीको स्वामित्व २.४७ प्रतिशत, ९औँ ठूलो सेयरधनी रहेको एसियन लाइफको स्वामित्व २.४७ प्रतिशत र १२औँ ठूलो सेयरधनी रहेको सुर्यज्योति लाइफको स्वामित्व ०.७८ प्रतिशत रहेको छ ।

कम्पनीको तेस्रो ठूलो सेयरधनीमा ग्लोबल आइएमई बैंक रहेको छ । त्यसपछि क्रमशः नेपाल इनभेष्टमेन्ट मेगा, प्रभु र एनआईसी एशिया बैंक रहेका छन् ।

यसैबीच बैंकले असोज मसान्तसम्म १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २० करोड ८५ लाख ४० हजार रुपैयाँ थियो।

बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्नुले नाफामा दबाब परेको हो। यद्यपि बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि गरेको छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो।

NECO

Leave Your Comment

Related News