Global College

रगतको चरम अभाव,रक्तदान गर्न विशेष आग्रह

काठमाडौं । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।

दसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदानका कार्यक्रमहरू कम भएको र अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गएकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले भने, ‘रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र पीआरपीको मौज्दात सकिएको छ।’ उनले थपे, ‘यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनमा ठुलो कठिनाइ भएको छ।’ उनले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीहरूलाई रक्तदान गर्न अनुरोध गरेका छन्।

चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा बिदा भएकाले रक्तदानका कार्यक्रममा कमी आएको र रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए। उनले स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२‌० स्थानबाट रक्तसञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिए। बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१५३८८४८५, ०१५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ।

साथै आफ्नो मोबाइलको प्लेस्टोरमा गएर ‘एनआरसीएस बिटीएस’ एप डाउनलोड गरी रक्तसञ्चारसम्बन्धी जानकारी लिनका लागि पनि नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News