Global College

पर्यटक बढेसँगै सोल्टी होटलको आम्दानीमा बढ्यो, खुद नाफा १४ करोड २३ लाख पुग्यो

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित पाँचतारे होटलमध्ये एक ‘सोल्टी होटल लिमिटेड’ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार, गत आर्थिक वर्षको तुलनामा होटलको व्यापार र नाफा दुवै बढेको छ।

यस अवधिमा होटलले १४ करोड २३ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आवको सोही अवधिमा होटलले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विदेशी तथा आन्तरिक पर्यटक बढ्दा नाफा बढेको कम्पनीले जनाएको छ।पछिल्लो समय अन्तर्राष्ट्रिय हवाई उडानहरू नियमित र सहज हुँदै जाँदा विशेषगरी छिमेकी मुलुक भारत, चीन र अन्य एसियाली देशहरूबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ। काठमाडौँको ताहाचलस्थित मुख्य पाँचतारे होटल ‘द सोल्टी काठमाडौँ’ का साथै पोखरा, लुम्बिनी, चितवन र इटहरीमा रहेका सोल्टीका अन्य होटल तथा रिसोर्टहरूमा पाहुनाको चाप बढेपछि कोठा बुकिङ र रेस्टुरेन्टबाट हुने आम्दानीमा ठुलो वृद्धि भएको छ। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलन र विवाहजस्ता ठुला भोजभतेर (ब्याङ्क्वेट) बाट पनि होटलले राम्रो कमाइ गरेको छ।

यस होटलको ऋण अनुपात ०.०१ मात्र रहेको छ। यस कारण पनि नाफा बढेको कम्पनीले जनाएको छ। धेरैजसो ठुला व्यापारिक कम्पनीहरूले कमाएको नाफाको ठुलो हिस्सा बैंकको ऋण र ब्याज तिर्दैमा सकिन्छ। तर, सोल्टी होटलसँग आफ्नै अर्बौँ रुपैयाँ बराबरको घरजग्गा र भवन छ भने बैंकको ऋण लगभग शून्य बराबर छ। बैंकलाई ब्याज तिर्नु नपरेपछि होटलले व्यापारबाट जति कमाउँछ, त्यो सिधै कम्पनीको खुद नाफामा जोडिन्छ।

यद्यपि, बजारमा नयाँ-नयाँ तारे होटलहरू खुल्दै जाँदा प्रतिस्पर्धा बढेको र खाद्यान्नको मूल्य महँगो भएको चुनौती पनि होटलसामु छ। तर, उत्कृष्ट सेवा र डिजिटल मार्केटिङको मद्दतले सोल्टी होटलले आगामी दिनमा पनि आफ्नो नाफालाई अझै बढाउँदै लैजाने लक्ष्य राखेको छ।

होटलको प्रतिसेयर आम्दानी १.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २९.९२ रुपैयाँ रहेको छ।

NECO

Leave Your Comment

Related News