काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५.७७ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो नाफा बढेर १६ करोड १३ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीको बीमा व्यवसायमा पनि वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड ४७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७३ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ५१ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको नवीकरण बीमाशुल्क २ अर्ब १० करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८१ करोड १६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, एकल बीमाशुल्क २७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले समीक्षा अवधिमा ३१ हजार ३११ वटा नयाँ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८० हजार ९३९ वटा बीमालेख जारी गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ २९ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ६२ पैसा थियो ।
असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल इक्विटी ६ अर्ब ४६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १३३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात १३६ प्रतिशत थियो ।
कम्पनीले समीक्षा अवधिमा १ अर्ब २० करोड ७९ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले बीमा व्यवसाय विस्तारसँगै ग्राहक सचेतना अभिवृद्धि, प्रविधिको प्रयोग, सेवा प्रवाहमा सुधार तथा विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ ।



