काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलबाट सपथ ग्रहण गरेसँग ओझा कुपन्डोलस्थित प्राधिकरणमा पुगेर पदभार सम्हालेका हुन् ।
सो क्रममा उनले सरकारले युवालाई जिम्मेवारी दिएकोमा आभार व्यक्त गरे ।
उनले जिम्मेवारीसँगै चुनौती पनि रहेको उल्लेख गर्दै चुनौति सामना गर्न नसक्दा सरकारले युवापुस्तामा जनाएको भरोसा निराशामा परिणत हुने भएकाले बीमा ऐन, कार्यविधि, नियमावली तथा निर्देशीका, मापदण्डका आधारमा असल अभ्यासको निरन्तरता दिने बताए । ‘सरकारले युवापुस्तामा जनाएको भरोसालाई निराशामा परिणत हुन दिन्न,’ उनले भने, ‘सरकारले युवापुस्ताको काँधमा दिएको महत्वपूर्ण जिम्मेवारी पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्नेछु ।’
सोमबार बसेको मन्त्रिपरिषदको वैठकले ओझालाई ४ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । ३३ वर्षे ओझा नियामक निकायका सबैभन्दा कान्छा प्रमुख हुन् ।