काठमाडौं । नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीका प्रवीण मानन्धर राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष एकल कातामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल भइरहेको प्रतियोगिताको सेमिफाइलनमा स्वनिमले एपीएफका मनीष कार्की तथा प्रवीणले बागमती प्रदेशका अमृत ठोकरलाई पराजित गरे । उक्त स्पर्धाको महिलामा एपीएफकी सन्जु देसारले बागमतीकी दीपा पुन तथा नेपाल प्रहरीकी एलिशा रास्कोटी मगरले आर्मीकी सानुमाया थिङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको पुरुष÷महिला टिम कातामा आर्मी र प्रहरीले उपाधि भिडन्त पक्का गरे । प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता निरुपा दोङ तामाङ र रेहान जावेदलाई जनही २० हजारसहित सम्मान गरिएको थियो । कराते प्रशिक्षकत्रय राजेन्द्र कपाली, अक्बर शाह र विजयमान थापा पनि सम्मानित भए ।
उद्घाटनका अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र रञ्जना प्रधान, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिमबाट २ सय १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रामकुमार थारुले जनाएका छन् । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा समावेश छन् । टिम च्याम्पियनले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।


