काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आइतबार, माघ १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।
कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात, १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १०० अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर बिक्रीका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निष्कासन गरेर बाँडफाँट भइसकेको छ ।
बाँकी ६ लाख ८९ हजार ६७५ कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ६८ हजार ९६७ कित्ता सेयर बिक्री भइसकेको छ । त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि १३ हजार ७९३ हजार कित्ता, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सामूहिक लगानी कोषहरुलाई ३४ हजार ४८४ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
यो निष्कासन बन्द छिटोमा माघ १८ गते हुनेछ भने ढिलोमा माघ २१ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कस्तो छ रेटिङको अवस्था ?
कम्पनीले क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपालबाट [CARE-NP BB-( IS) {Double B Minus (Issuer ) } प्रमाणपत्र प्राप्त गरेको छ । जसले समयमै कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेका] (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने जनाउँदछ ।

कति कित्ताका लागि दिने आवेदन ?
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा ५७ हजार २४३ जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आयोजना सम्बन्धी विवरण
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ जेठ ३० गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको थियो । पछि २०८० असार २१ गते यो कम्पनी पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११, ट्रेड टावर, थापाथलीमा रहेको छ । कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका (साबिकको घ्याङफेदी गा.विस. ) मा रहेको छ ।

संगठित संस्थाको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकमा हाल ६०९ जना संस्थापक सेयरधनीहरु रहेका छन् । यस कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत / उर्जा क्षेत्र, सामाजिक कार्य/वैदेशिक रोजगार, शैक्षिक क्षेत्र एवं व्यापार / व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय देखि दख्खल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।
कम्पनीले स्थापना भएपश्चात् नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका (साविकको घ्याङफेदी गा.वि.स.)मा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको सर्वेक्षण गर्नका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो ।
सो आयोजनाको निमार्ण तथा संचालनको लागि सो ऐनमा व्यवस्था भए अनुसार २०७२ असोज १८ गते नेपाल सरकार, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.२०७२/ ७३ वि. उ. १४४ ) प्राप्त गरी २०७५ मंसिरदेखि आयोजनाको निर्माण कार्य शुरु गरेको हो ।
कम्पनीले यस आयोजनाबाट उत्पादित विद्युत शक्ति बिक्री गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणसँग २०६८ चैत ३ गते Take or Pay प्रावधानमा आधारित विद्युत खरिद बिक्री सम्झौता (PPA) सम्पन्न गरेको छ । उक्त सम्झौता सम्पन्न गर्दाको अवस्थामा यस आयोजनाको व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ चैत १० गते रहेको थियो ।

कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्पन्न विद्युत खरिद बिक्रि सम्झौता ( PPA) अनुसार आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति पाचौं संशोधन अनुसार (RCOD) २०८१ जेठ ४ गतेसम्म रहेको थियो । PPA मा भएको पाचौं संसोधन अनुसार व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति भन्दा करिब १३ महिना ढिला गरी आयोजनाबाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाईनमा विद्युत प्रवाह भईरहेको छ ।
नेपाल विद्युत प्राधिकरणको २०८२ भदौ १२ गतेको पत्र मार्फत आयोजनाको व्यापारिक विद्युत उत्पादन मिति (COD) २०८२ साउन १२ गते निर्धारण गरिएको छ । कम्पनीले आयोजनाको सम्पूर्ण निर्माण सम्बन्धि कार्यका साथै Dry Test हरु समेत २०८२ असार २५ गते सम्पन्न गरी परिक्षण विद्युत उत्पादन शुरु गर्दै २०८२ साउन १२ गतेबाट पूर्ण रुपमा व्यापारिक विद्युत उत्पादन गरी आयोजना संचालन गरिरहेको छ ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति ७ कि.मि. लामो ३३ के. भि. विद्युत प्रसारण लाइन मार्फत दुप्चेश्वर गा.पा. वडा नं. ६ मा अवस्थित नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सव स्टेसनमा पुयाई बिक्री गर्ने र प्राधिकरणले पनि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति २०६८ चैत गते कम्पनी र प्राधिकरणबीच सम्पन्न विद्युत खरिद बिक्रि सम्झौता बमोजिम गरिरहेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी विवरण
यस कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम जारी पुँजीको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार बराबरको १०० रुपैयाँ अंकित दरका १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र सर्वसाधारणहरुको लागि बिक्री वितरण गरी कम्पनीको जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० पुर्याउनु रहेको छ ।
साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न, प्रबन्धपत्रमा तोकिए बमोजिमको पुँजी संरचना कायम गर्ने, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन तथा कम्पनीले आयोजना निर्माण गर्नका लागि भुक्तान गर्न बाँकी अन्य दायित्व भुक्तान गर्न सेयर जारी गर्न लागेको जनाइएको छ ।

वित्तीय अवस्था
कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ५५ करोड १७ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने ६८ करोड ९६ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।
गत आर्थिक वर्षमा कम्पनीले १ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा १ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोर्ने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा ३ करोड १४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २० प्रतिशत रहनेछ । यस कम्पनीमा अपि पावरको ३२ लाख ९२ हजार कित्ता सेयर रहेको छ ।

सुर्यकुण्ड हाइड्रोको अध्यक्ष संजिव न्यौपाने रहेका छन् ।



