काठमाडौं । वाणिज्य बैंकहरुले ७ महिनामा ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ५.४० प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यी बैंकहरुले ३६ अर्ब ६ करोड मुनाफा आर्जन गरेका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । नबिलले ७ महिनामा ५ अर्ब ३८ करोड खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.२१ प्रतिशत धेरै हो । त्यसपछि, ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड नाफा कमाएको छ ।
यता, कुमारी बैंकले भने ३ अर्ब १७ करोड ५१ लाख नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ३२९ प्रतिशत धेरै हो । गत वर्षको माघसम्म यस बैंकले ७३ करोड ८६ लाख नाफा कमाएको थियो । प्रोभिजनका लागि छुट्याइएको रकम घटेको कारण नाफामा सुधार आएको हो ।
एभरेष्ट बैंकले २ अर्ब ५० करोड, प्राइम कर्मसियलले २ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब १९ करोड र एनएमबि बैंकले २ अर्ब १३ करोड नाफा कमाएको छ । तथ्यांक अनुसार १६ बैंकले १ अर्ब भन्दा धेरै नाफा आर्जन गरेका छन् । सबैभन्दा कम नाफा कमाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यसले २४ करोड २७ लाख नाफा कमाएको छ । एनआइसी एसियाले ४४ करोड ३० लाख र सिटिजन्स बैंकले ५७ करोड ६९ लाख नाफा आर्जन गरेको छ ।



