CLI

पुँजीगत लाभकर आधाले घट्यो, कुन महिना कति उठ्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ मा सेयर कारोबार गर्ने लगानीकर्ताबाट उठ्ने पुँजीगत लाभकर उल्लेखनीय रुपमा घटेको छ । चालु आवको फागुनसम्म सेयर कारोबार गर्ने लगानीकर्ताबाट कुल ६ अर्ब ४४ करोड रुपैयाँ मात्रै कर संकलन भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ अर्ब १७ करोड रुपैयाँको तुलनामा झण्डै आधा कम हो ।

महिनागत विवरणअनुसार, चालु वर्षको पहिलो महिना अर्थात, श्रावणमा सबैभन्दा धेरै २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर कर उठेको छ । त्यसपछि भदौमा ६० करोड १५ लाख, असोजमा २४ करोड ३६ लाख कर संकलन भएको छ । कात्तिकमा सरकारले ३८ करोड र मंसिरमा ६३ करोड रुपैयाँ कर संकलन गरेको छ।

त्यसैगरी, पुसमा ५८ करोड ४३ लाख रुपैयाँ उठ्दा माघमा भने उल्लेखनीय सुधार हुँदै १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ, जुन श्रावणपछि दोस्रो उच्च हो । तर फागुनमा फेरि घटेर ५५ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षसँग तुलना गर्दा श्रावणदेखि फागुनसम्म अधिकांश महिनामा कर संकलन घटेको देखिन्छ । विशेषगरी श्रावणमा अघिल्लो वर्ष ४ अर्ब २३ करोड उठेकोमा यस वर्ष ठूलो गिरावट आएको छ । भदौ, असोज, कात्तिक, मंसिर र फागुनमा पनि उल्लेखनीय कमी देखिएको छ।

विशेषज्ञहरुका अनुसार सेयर बजारमा कारोबार घट्नु, सूचकमा गिरावट आउनु र लगानीकर्ताको नाफा कम हुनु नै पुँजीगत लाभकर घट्नुका मुख्य कारण हुन् । जब सेयरको मूल्य वृद्धि कम हुन्छ वा लगानीकर्ताले नाफा लिन सक्दैनन्, त्यतिबेला सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर पनि स्वाभाविक रुपमा घट्छ । त्यसमाथि सेयर बजारमा धेरै समयदेखि साइडवेज छ ।

त्यसो त, पुँजीगत लाभकर स्थिर हुने राजस्व होइन । यो पूर्ण रुपमा सेयर बजारको उतारचढावमा निर्भर हुन्छ । बजार बढ्दा लगानीकर्ताले नाफा लिन्छन् र कर संकलन बढ्छ, तर बजार घट्दा यसको उल्टो प्रभाव पर्छ । यद्दपि, विशेषज्ञहरुका अनुसार आगामी दिनमा पुँजीगत लाभकर बढ्ने सम्भावना पनि छ ।

जब लगानीकर्ताको विश्वास फर्किन्छ र सेयर बजारमा सुधार आउँछ तब कारोबार र नाफा दुवै बढ्न सक्छ । यस्तै, नयाँ लगानीकर्ता प्रवेश, नीतिगत स्थिरताले पनि बजारमा सुधार आउँछ । त्यसैले, चालु आर्थिक वर्षमा पुँजीगत लाभकर घटे पनि यो दीर्घकालीन प्रवृत्ति नभई बजारको अवस्थासँग जोडिएको अस्थायी उतारचढाव भएको विश्लेषण गरिएको छ ।

Leave Your Comment

Related News