CLI

युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा दुई पटकको अग्रता जोगाउन नसक्दा बर्नमाउथसँग २-२ को बराबरी रोकिएको छ। बर्नमाउथविरुद्धको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो।

६१ औं मिनेटमा युनाइटेडले पहिलो गोल पेनाल्टीमार्फत गर्‍यो। एलेक्स जिमेनेजले माटेउस कुन्हालाई बक्सभित्र तानेपछि पेनाल्टी दिइएको थियो। ब्रुनो फर्नान्डेसले सहजै गोल गरे। तर ६७ औं मिनेटमा बर्नमाउथले बराबरी फर्कायो। रायन क्रिस्टीले बक्स बाहिरबाट प्रहार गर्दै गोल गरे।
त्यसपछि ७१ औं मिनेटमा युनाइटेड अघि बढ्यो। फर्नान्डेसको कर्नरमा बलमट जेम्स हिलबाट आत्मघाती गोल भयो।

छोटो समयको अन्तरालमा गोल भएपछि खेल निकै प्रतिस्पर्धात्मक बन्यो। खेल सकिन ९ मिनेट बाँकी रहँदा म्याग्वायरले बक्सभित्र इभानिल्सनलाई रोकेपछि रेफ्रीले पेनाल्टी दिँदै उनलाई सिधै रातो कार्ड देखाए। जुनियर क्रुपीले पेनाल्टीलाई गोलमा परिणत गर्दै बर्नमाउथलाई महत्वपूर्ण बराबरी दिलाए। युनाइटेड ५५ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ। १० औं स्थानमा रहेको बर्नमाउथको ४२ अंक छ।

Leave Your Comment

Related News