काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशका रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँगको भेटमा उनले देश बनाउने हुटहुटीका साथ सरकार अघि बढेको बताउँदै निजी क्षेत्रलाई उड्ने र फैलिने वातावरण राज्यले निर्माण गरिदिने आश्वासन दिए।
अर्थतन्त्र बलियो बनाउन हातेमालो गर्न आह्वान गर्दै मन्त्री वाग्लेले इमानदार उद्योगी व्यवसायीहरू कानुनका कारण बदनाम हुने र राज्यका कारण हैरानी पाउने अवस्थाको अन्त्य गर्ने ग्यारेन्टी समेत गरे।
उनले उद्योग र अर्थतन्त्रको विकासका लागि आवश्यक सबै कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि पूर्ण इमानदारिताका साथ काम गर्न आग्रह गरे। निजी क्षेत्रले राखेको चासोका विषयमा बोल्दै उनले नेपाल एलडिसीमा स्तरोन्नति हुने विषय तत्काल नहुने आफ्नो मान्यता रहेको प्रस्ट पारे।
मन्त्री वाग्लेले निजी क्षेत्रलाई राज्यले दिलोज्यान दिएर सहयोग गर्ने जिम्मा लिँदै, नियोजित र प्रायोजित गल्ती वा बेइमानीका हकमा भने सरकार निर्मम हुने स्पष्ट पारेका छन्।



