काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा प्रतिस्पर्धा हुने आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् ।
फुटसलमा २, ब्याडमिन्टनमा ७, टेबलटेनिसमा ५ र बुद्धिचालमा १ गरी १५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जेठ १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाडौंमा हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पदक विजेतालाई नगद, प्रमाण पत्र, पदक र ट्रफीसहित पुरस्कृत गरिने छ ।
नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्था र निजि क्षेत्रका संगठित संस्थाहरु (बैंक वित्तिय संस्था, एयरलाइन्स, परिषद्, स्थानीय निकाय, दुरसञ्चार सेवा प्रदायक कम्पनी, विमा सेवा) मा कार्यरत कर्मचारीले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।



