वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।
यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो । सुरुआती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन जोडेको थियो ।
त्रिभुवन आर्मीका तर्फबाट अर्जुन साउदले १२० बल खेल्दै १२१ रन जोडेका थिए । यसैगरी, आर्मीकै बसीर अहमदले ७० बलमा ४५ रन जोडेका थिए । कर्णाली प्रदेशका दिनेश अधिकारीले चार विकेट र प्रकाश जैसीले तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा सीमित भएको थियो ।
कर्णालीका तर्फबाट विपिनविक्रम शाही ठकुरीले ४० रन र अर्जुन घर्ती मगरले ३२ रन जोडेका थिए । त्रिभुवन आर्मी क्लबका सहाब आलम र बसिर अहमदले सामान तीन÷तीन विकेट लिएका थिए ।
आजको खेलमा त्रिभुवन आर्मी क्लबका अर्जुन साउद ‘प्लेयर अफ दी म्याच’ भने घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।


