CLI

युद्धग्रस्त देशमा सामाजिक सञ्जालको सामग्रीका कारण पक्राउ परेका नेपाली अझै हिरासतमा, युक्रेनमा रहेका नेपाली युद्धबन्दीको संख्या पनि अज्ञात

काठमाडौं । पश्चिम एसियाली मुलुकहरुमा भ्रमपूर्ण सन्देश फैलाएको आरोपपमा पक्राउ परेका नेपालीहरु अझै हिसारतबाट छुटेका छैनन् ।  युद्धको बेला ड्रोन र मिसाइलको भिडियो खिचेर सार्वजनिक गरेको तथा संवेदनशील सामग्री सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा विभिन्न देशमा पक्राउ परेका ११ नेपाली अझै हिरासतबाट छुट्न सकेका छैनन् ।

परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रयास जारी राखेको बताए पनि हालसम्म उनीहरुको रिहाइ सम्भव हुन नसकेको जनाएको छ।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अहिलेको असामान्य सुरक्षा अवस्थाका कारण यस्ता मुद्दामा पक्राउ परेकाहरुलाई छुटाउन अत्यन्त कठिन भइरहेको बताए।

उनले भने,  ‘नेपाली दूतावास तथा नियोगहरुले सम्बन्धित देशका निकायसँग लगातार समन्वय गरिरहेका छन्, तर युद्ध र सुरक्षा संवेदनशीलताका कारण प्रक्रिया सहज हुन सकेको छैन ।’

मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार र ओमानमा गरी ११ नेपाली पक्राउ परेका छन्। यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना नेपाली हिरासतमा रहेका छन्।

उनीहरुमाथि सामाजिक सञ्जालमा अफवाह फैलाउने खालका सामग्री पोस्ट गरेको, युद्धसम्बन्धी दृश्यहरु रेकर्ड गरी सार्वजनिक गरेको आरोप लगाइएको छ।

पश्चिम एसियामा पछिल्लो समय बढ्दो क्षेत्रीय तनाव र युद्धका कारण ती देशहरुले साइबर गतिविधि तथा सामाजिक सञ्जालको निगरानी कडा बनाएका छन् । विशेषगरी युद्ध, सैन्य गतिविधि र सुरक्षासम्बन्धी सामग्री सार्वजनिक गर्नेमाथि ती देशहरुले कडा कानुनी कारबाही गर्दै आएका छन्। यही कारण अहिले पक्राउ परेका नेपालीहरुलाई कानुनी प्रक्रियाबाट छिट्टै छुटाउन चुनौती थपिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले नेपालीहरु मात्र नभई अन्य धेरै देशका नागरिकहरु पनि यस्तै आरोपमा पक्राउ परेको जानकारी दिए । उनले विदेशमा बसोबास गर्ने नेपालीहरुलाई सम्बन्धित देशको कानुन र सामाजिक सञ्जालसम्बन्धी नियमबारे सचेत रहन आग्रह गरे।

यसैबीच, रुस–युक्रेन युद्धसँग सम्बन्धित अर्को चिन्ताजनक विषय पनि सरकारका लागि अझै अन्योलमै रहेको छ । युक्रेनमा नेपाली युद्धबन्दी कति छन् भन्नेबारे सरकारले स्पष्ट विवरण पाउन सकेको छैन । शुक्रबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ताले नेपाली युद्धबन्दी कति छन् भनेर आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना युक्रेनी समकक्षीसँग नेपाली युद्धबन्दीको रिहाइका लागि पहल गर्न अनुरोध गरेको जानकारी दिए ।

तर युक्रेन पक्षबाट हालसम्म कति नेपाली पक्राउ परेका छन्, उनीहरुको अवस्था कस्तो छ र कहाँ राखिएको छ भन्नेबारे औपचारिक जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ । सरकारले युद्ध प्रभावित क्षेत्रहरुमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी संकलन गर्ने काम जारी रहेको र आवश्यक कूटनीतिक पहल निरन्तर भइरहेको जनाएको छ।

Leave Your Comment

Related News