काठमाडौं । नेपाल सरकारले प्रशासनिक सेवालाई झन्झटमुक्त बनाउँदै राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्याउन थालेको छ। हालसम्म ४१ जिल्लाका ८ हजारभन्दा बढी नागरिकले आफ्नै घरमा राहदानी प्राप्त गरिसकेका छन्। उपत्यका बाहिरका ४१ जिल्ला नागरिकहरुलाई घरमा राहदानी पुराइएको हुलाक सेवा विभाग काठमाडौंले जानकारी दिएको छ ।
विभागले बाँकी जिल्लाहरुमा समेत राहदानी वितरण गर्ने कार्यतालिका रहेको जनाएको छ । राहदानी बनाउन करिब ६० भन्दा बढी जिल्लाका नागरिकले आवेदन दिएको र ती राहदानीहरु निर्माणको क्रममा रहेकाले हाल ४१ वटा जिल्लामा मात्र राहदानी घरमा पुराउने काम गरेको विभागका अधिकारीहरले जानकारी दिए ।
सरकारी कार्यालयमा धाउनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने सास्तीलाई अन्त्य गर्न सरकारले यो नवीन कदम चालेको हो। गत चैत १३ गते सार्वजनिक गरिएको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अन्तर्गत १०० दिनभित्रै अत्यावश्यक सेवाहरू घरमै उपलब्ध गराउने प्रतिबद्धता गरिएको थियो। सोही लक्ष्य अनुरूप प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको समन्वयमा हुलाक सेवा विभागलाई सरकारी कुरियर सेवाका रूपमा परिचालन गरिएको छ। लामो समयदेखि प्रभावहीन जस्तै बनेको हुलाक संयन्त्रलाई यसले पुनः चलायमान बनाएको छ।
राहदानीका लागि आवेदन दिँदा फोटो खिच्ने समयमै सेवाग्राहीलाई एउटा विशेष फारम उपलब्ध गराइन्छ। उक्त फारममा राहदानी घरमै बुझ्ने वा कार्यालयमा लिन आउने भन्ने विकल्प रोज्न सकिन्छ। घरमै मगाउन चाहनेले हुलाक सेवाको तोकिएको न्यून शुल्क भुक्तानी गरेपछि सुरक्षित रूपमा आफ्नो कागजात हात पार्न सक्छन्।
हुलाक सेवा विभागका सूचना अधिकारी जमुना मिश्रले हालसम्म १८२ जनाले मात्र आफ्नै घरमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका बताईन् । उनले बाँकी लाइसेन्सहरू भने हालका लागि सम्बन्धित यातायात कार्यालयमै पठाइएको बताईन् । विभागले आगामी दिनमा अझै धेरै लाइसेन्सहरू नागरिकको घरदैलोमै पुर्याउने लक्ष्य राखेको मिश्रको भनाइ छ।‘सरकारको योजना अनुरुप घरमा नै लाइसेन्स पुराउने काम गरिरहेको छौं,’ उनले भनिन्,‘ हामी निरन्तर यो काम गरिरहने छौं , यसले नागरिकलाई राहत मिलेको छ । यसका लागि कर्मचारीलाई समस्या छैन।’
सरकारले राहदानी, लाइसेन्स नागरिकहरुलाई हुलाकमार्फत् घरमा पुराउने नीति लिए सँगै कर्मचारीहरुले सोही अनुरुप काम गर्दै आएका छन् ।


