काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको घरेलु सिरिजको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको साघुरो हार बेहोरेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो ।
गुल्सन झाले आक्रामक अर्धशतक प्रहार गरेपनि नेपाललाई जित दिलाउन सकेनन् । गुल्सन ३५ बलमा ६१ रन बनाएर अविजित रहे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
रोहित ३२ रनमा आउट भए । ओपनर आसिफ शेख २१, करण केसी १८, विनोद भण्डारी १०, आरिफ शेख ३ र अर्जुन कुमाल ० रन बनाए । नन्दन यादव ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका ब्राड्ली करीले ३, मार्क वाटले २, ज्याक जर्विस र ओलिभर डेभिडसनले एकएक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सले सर्वाधिक ७५ रन बनाए । ६२ बलमा उनले १२ चौका र २ छक्का प्रहार गरे । जर्जले फिल्ने म्याकरिथसँग पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । फिल्ने ६२ बलमा ३५ रनमा आउट भए । दुवै ओपनरलाई सन्दीप लामिछानेले एकै ओभरमा आउट गर्दै खेलको मोमेन्टम फर्काएको थिए ।
त्यसपछि ब्रेनडन म्याकमुलेन ९ बलमा ७ र कप्तान रिचि बेरिङटन ११ बलमा ५ रन बनाएर आउट भए । १२८ रनमा ४ विकेट गुमाएको स्कटल्याण्डका लागि म्याथ्यु क्रस र माइकल इग्लिसले पाँचौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । म्याथ्यु ३८ बलमा १८ रन बनाएर आउट हुँदा इग्लिस ७२ बलमा ३४ रन बनाएर नटआउट रहे । मार्क वाट १८ बलमा २४ र माइकल लिस्क २३ बलमा २९ रन बनाएर आउट भए । ज्याक जर्विस ० रनमा आउट भए ।
बलिङमा नेपालका सन्दीप लामिछाने घातक बने । आफ्नो स्पेल पूरा गरेको सन्दीपले ४१ रन खर्चेर ४ विकेट लिए । लय गुमाएको नेपालका लागि सन्दीपले फर्काएका थिए । करण केसीले र नन्दन यादवले दुईदई विकेट लिए । सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।


