CLI

लिभरपुल माथि एस्टन भिल्लाकाे जित, च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शुक्रबार एस्टन भिल्लाले लिभरपुललाई ४-२ गोलले हराउँदै अर्को सिजन युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ। भिल्ला पार्क मैदानमा भएको खेलमा एस्टन भिल्लाका लागि ओली वाट्किन्स २, मर्गन रोजर्स र जोन म्याकगिनले गोल गरे। लिभरपुलका लागि दुबै गोल भर्जिल भान डाइकले गरे।

४२औँ मिनेटमा रोजर्सको गोलमा एस्टन भिल्लाले अग्रता लियो। दोस्रो हाफ सुरु भएको केही समयपछि लिभरपुल खेलमा फर्कियो। ५२औँ मिनेटमा डोमिनिक सोबोस्लाइको फ्रिकिकमा भान डाइकले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। तर त्यसको पाँच मिनेटपछि नै एस्टन भिल्लाले फेरि अग्रता लियो। सोबोस्लाइ आफ्नै क्षेत्रमा चिप्लिएपछि रोजर्सले पास दिए र ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई २-१ ले अघि बढाए।

७३औँ मिनेटमा वाट्किन्सले नजिकबाट अर्को गोल थपेपछि भिल्ला ३-१ ले अघि बढ्यो। खेलको ८९औँ मिनेटमा जोन म्याकगिनले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै चौथो गोल गरे। इन्जुरी समयमा भान डाइकले दोस्रो गोल गरे पनि त्यो लिभरपुलका लागि सान्त्वना गोल मात्र बन्यो।
यो जितसँगै एस्टन भिल्लाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने स्थान सुरक्षित गरेको छ। लिभरपुल भने अझै पनि च्याम्पियन्स लिग स्थानका लागि अन्तिम खेलसम्म संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ।

अब एस्टन भिल्लाले अर्को बुधबार युरोपा लिग को फाइनलमा जर्मन क्लब फ्राइबर्ग सँग खेल्नेछ। साथै प्रिमियर लिगको अन्तिम खेलमा भिल्लाले म्यानचेस्टर सिटी सँग खेल्ने छ। लिभरपुलले भने आफ्नो अन्तिम लिग खेल घरेलु मैदानमा ब्रेन्टफोर्ड विरुद्ध खेल्नेछ। ३७ खेलपछि चौथो स्थानको भिल्लाको ६२ अंक पुगेको छ। पाँचौँ स्थानमा रहेको लिभरपुलको ५९ अंक छ।

Leave Your Comment

Related News