काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विगतझैँ खेलाडी र अफिसियलसहित जम्बो टोली पठाउने परम्परालाई यसपटक नेपालले अन्त्य गरेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपका लागि नेपालले ३१ सदस्यीय टोली मात्र भारत पठाउने भएको छ ।
यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आवश्यकताभन्दा ठूलो टोली पठाउँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) माथि अतिरिक्त आर्थिक भार पर्ने गरेको थियो । तर यसपटक सीमित र आवश्यक सदस्य मात्र समावेश गरिएकाले खर्चसमेत घट्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा २३ खेलाडी समावेश छन् । टोलीमा एक व्यवस्थापक, एक मुख्य प्रशिक्षक, दुई सहायक प्रशिक्षक तथा एक–एक गोलकिपर कोच, किट म्यानेजर, फिजियो र मिडिया म्यानेजर रहेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी हुन लागेको नेपाली महिला फुटबल टोलीलाई बिदाइ गरे ।
सो अवसरमा मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीको प्रदर्शन सधैँ उत्कृष्ट रहेको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त सफलताले देशको गौरव बढाएको बताए ।
साफ महिला च्याम्पियनसिप यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाउँ, गोवामा सञ्चालन हुनेछ । नेपाली टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्न भएपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


