काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४० करोड ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ४९ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, १४ लाख हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।
३ लाख ५० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, १ लाख ७५ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र १ लाख ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।
यो निष्कासन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २२ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कस्तो छ रेटिङको अवस्था ?
कालंगा हाइड्रोलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग्स नेपाल लिमिटेडले “[CARE- NP BB (Is) [Double B Minus (Issuer) ] ” प्रदान गरेको छ । उक्त रेटिङ्ग (Upgrade) भई “[CARE- NP BB (Is) (Double B (Issuer) ]” प्राप्त भएको छ । “[CARE-NP BB (Is) [Double B (Issuer) ] ” ले Moderate risk of default regarding timely servicing of financial obligations in Nepal बुझाउँछ ।

कति कित्ताका लागि दिने आवेदन ?
कालंगा हाइड्रो लिमिटेडले खोलाको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा २ लाख ८७ हजार जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आयोजना सम्बन्धी विवरण
कालंगा हाइड्रो लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ पुस ५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । पछि २०७८ असार ३० गतेको निर्णय अनुसार प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार संचालन गरी रहेको छ ।
यस कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ३, धोबिघाटमा रहेको छ । कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ३, धोबिघाट, ललितपुर र बझाङ जिल्ला सुनकुँडा, खिरातडी र बाँझ गाँउपालिकामा कालंगा हाइड्रो लिमिटेडको आयोजनास्थल रहेको छ ।
संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :
कालंगा हाइड्रो लिमिटेडद्वारा सञ्चालित १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । बझाङ जिल्लामा निर्माण गरिएको उक्त आयोजनाबाट २०७९ माघ २७ गतेदेखि विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।
सुनकुँडा, खिरातडी र बाँझ गाउँपालिकाबाट बग्ने कालनागाड खोलाको पानी उपयोग गरी आयोजना निर्माण गरिएको हो । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
कम्पनीका अनुसार उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित नेपाल विद्युत प्राधिकरणको चमेलिया जलविद्युत केन्द्रको बलाँच सबस्टेशन हुँदै केन्द्रीय प्रसारण प्रणालीमा समाहित गरिएको छ।
कालंगा हाइड्रो लिमिटेड २०६४ साल पुस ५ गते कम्पनी ऐन, २०६३ अनुसार प्राइभेट लिमिटेड कम्पनीका रुपमा स्थापना भएको थियो। पछि २०७८ असार ३० गते कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको हो।
आयोजना निर्माण तथा सञ्चालनका लागि कम्पनीले २०७२ चैत १४ गते नेपाल सरकारको ऊर्जा मन्त्रालयबाट अनुमति प्राप्त गरेको थियो। उक्त अनुमति २१०७ चैत १३ गतेसम्म कायम रहने जनाइएको छ।
आयोजनाका लागि ३३.३ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरिएको छ। त्यसमध्ये ३.८ किलोमिटर डबल सर्किट तथा २९.५ किलोमिटर सिंगल सर्किट लाइन रहेको कम्पनीले जनाएको छ । कालंगा हाइड्रोले आयोजनाले राष्ट्रिय ऊर्जा उत्पादन वृद्धि, स्वच्छ ऊर्जा विकास तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्रमा रहेको व्यवस्था अनुसार जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई तथा जारी पुँजीको ३५ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप सेयर सर्वसाधारणहरुमा (कम्पनीमा कार्यरत कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु तथा सामुहिक लगानी कोष समेत) निष्काशन गरी कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न आइपीओ जारी गर्न लागेको हो ।
साथे, बैंक कर्जा रकम चुक्ता भुक्तानी गर्न, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न, प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पुँजी संकलन गर्न र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन सेयर जारी गरेको हो ।
निष्कासनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः
आइपीओ बिक्रीबाट प्राप्त हुने रकमलाई कम्पनीको हाल सञ्चालनमा रहेको १५.३३ मे.वा. जि क्षमताको कालंगागाड जलविद्युत आयोजनाको आवश्यक मर्मत सम्भार, सुधार तथा सञ्चालन प्रयोजनका लागि लिइएको बैंक कर्जा रकम साँवा रकम चुक्ता भुक्तानीमा खर्च गर्ने वित्तीय योजना तथा रणनीति रहेको छ ।

वित्तीय अवस्था
कम्पनीको अधिकृत पुँजी र जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ९१ करोड रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ४० करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ । यता, कम्पनीले चालु आर्थिक वर्षको पुससम्म ५ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष भने कम्पनी १ करोड ३४ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ९ करोड ४८ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा कम्पनीले १५ करोड १५ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीको पुससम्मको प्रतिसेयर आम्दानी ६.७७ रुपैयाँ छ भने नेटवर्थ १०५.०९ रुपैयाँ छ । सञ्चति नाफा ४ करोड ६२ लाख रुपैयाँ छ ।



