CLI

कार्यन्वयनमा आएको करिब साढे ४ महिना बित्दा पनि एउटा ब्रोकरले मात्रै सुरु गर्‍यो मार्जिन ट्रेडिङ, नयाँ ब्रोकरहरुसँग छैन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि मार्जिन कारोबार सेवा कार्यान्वयनमा ल्याए पनि हालसम्म जम्मा एउटा ब्रोकरले मात्र मर्जिन ट्रेडिङ  सुरु गरेको छ । नासा सेक्युरिटिजले मात्र मार्जिन सेवा प्रदान गर्दै आइरहेको छ । जबकि, ९२ वटा ब्रोकर कम्पनीमध्ये २८ वटाले यो सेवा सञ्चालन गर्नका लागि अनुमति प्राप्त गरिसकेका छन् । यी सबै पुराना ब्रोकरहरु हुन् । नयाँ ब्रोकरहरु कुनैले मार्जिन  कारोबारका लागि अनुमति पाएका छैनन् ।

धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम “मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२” स्वीकृत गर्दै फागुन १ गतेदेखि लागू गरेको थियो। तर व्यवहारमा भने सेवा विस्तार हुन नसक्दा लगानीकर्ताले अपेक्षित सुविधा पाउन सकेका छैनन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीमध्ये १२ वटाले नेपाल राष्ट्र बैंकसँग अनुमति मागेका छन् । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि मात्रै उनीहरुले मार्जिन कारोबार सञ्चालन गर्न पाउनेछन् ।

उनले भने, ‘ब्रोकरहरुमध्ये एउटा नासा सेक्युरिटिजले मात्र मार्जिन कारोबार सुरु गरेको छ । बाँकी कसैले पनि गरेका छैनन् । त्यसमाथि, सञ्चालनमा रहेका सबै ब्रोकरले मार्जिन ट्रेडिङ गर्न पाउँदैनन् । सबैसँग अनुमति छैन । पुराना २८ वटासँग छ भने नयाँ कुनैले पनि अनुमति पाएका छैनन् । नयाँ ब्रोकरमध्ये १२ वटाले नेपाल राष्ट्र बैंकसँग अनुमति मागेका छन् । जुनदिन अनुमति लिएर आउँछन् तब मार्जिन कारोबार गर्न पाउँछन् ।’

नयाँ ब्रोकरहरुले अझै नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमति प्राप्त गर्न सकेका छैनन् । मार्जिन कारोबारमा बैंकिङ प्रकृतिको पैसा सापटी दिने र ब्याज उठाउने व्यवस्था हुने भएकाले राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुन्छ, जसले प्रक्रियालाई जटिल बनाएको छ।

त्यसैगरी, मार्जिन ट्रेडिङ सञ्चालन गर्न ब्रोकरहरुले अतिरिक्त पूर्वाधार, प्रविधि प्रणाली तथा जोखिम व्यवस्थापन संरचना तयार गर्नुपर्छ, जुन धेरै कम्पनीहरुले अझै पूरा गर्न सकेका छैनन्। प्रक्रिया नै लामो र जटिल भएकाले धेरै ब्रोकरहरु यसतर्फ तत्काल अघि बढ्न सकेका छैनन्।

अर्कोतर्फ, हालको सेयर बजार घटिरहेको अवस्थाले पनि ब्रोकरहरुको उत्साहमा कमी ल्याएको देखिन्छ । बजार कमजोर हुँदा तत्काल नाफा देखिने सम्भावना कम हुने भएकाले उनीहरु जोखिम लिन इच्छुक छैनन् । साथै, लगानीकर्ताको चासो पनि अपेक्षाअनुसार नदेखिएकाले सेवा विस्तारमा थप ढिलाइ भएको हो ।

प्रवक्ता पराजुलीका अनुसार बजारको वर्तमान अवस्थाले ब्रोकरहरुलाई तत्काल फाइदा नदेखिएकाले मार्जिन ट्रेडिङ सेवा विस्तारमा उत्साह कम देखिएको हुन सक्छ । उनले भने,  ‘यस्तो हुनुमा ब्रोकरहरुले बजार घटेको बेला फाइदा हुँदैन भनेर आएनन् होला, उनीहरुको इच्छाको कुरा हो । नयाँले पनि खासै चासो देखाएनन् । बजार घटेको बेला खासै चासो छैन ।’

मार्जिन ट्रेडिङ भनेको के हो ?

सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ। यो एक यस्तो प्रक्रिया हो जसमा लगानीकर्ताले आफ्नो पुँजी मात्र प्रयोग नगरी ब्रोकरबाट सापटी रकम लिएर सेयर किनबेच गर्न सक्छन् ।

मार्जिन कारोबार बजारमा हुने उतारचढावबाट तत्काल लाभ लिनका लागि गरिने अल्पकालीन कारोबार हो । यसमा लगानीकर्ताले आफ्नो केही रकम धितोका रुपमा राख्छन् र ब्रोकरले त्यसको आधारमा थप रकम (मार्जिन) उपलब्ध गराउँछ । त्यसबापत लगानीकर्ताले ब्याज वा अन्य शुल्क तिर्नु पर्छ ।

यो सुविधा दीर्घकालीन लगानीभन्दा अल्पकालीन लगानीका लागि बढी उपयोगी मानिन्छ। सामान्यतया मार्जिन कारोबार निश्चित अवधिका लागि दिइन्छ र अवधि सकिएपछि नवीकरण गर्नुपर्ने हुन्छ । यसको लागि लगानीकर्ता र ब्रोकरबीच निश्चित ढाँचामा सम्झौता गरिन्छ ।

मार्जिन कारोबार गर्न लगानीकर्ताले एउटै ब्रोकरसँग मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्ने हुन्छ । ब्रोकरले पनि लगानीकर्ताको आर्थिक क्षमता अध्ययन गरेर मात्र ऋण वा मार्जिन सुविधा दिने निर्णय गर्छ । यदि लगानीकर्ता उपयुक्त देखिएन भने सुविधा नदिने अधिकार ब्रोकरसँग रहन्छ । यो प्रणालीले लगानीकर्तालाई कम पुँजीमा ठूलो कारोबार गर्ने अवसर दिन्छ, जसले बजारमा कारोबारको मात्रा बढाउँछ।

Leave Your Comment

Related News