CLI

विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा

काठमाडौं । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

यो पटकको विश्वकपको क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १–१ टिम अन्तिम ८ मा पुगेका छन् । कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो । साविक विजेता अर्जेन्टिनासहित पुर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् । अब एक दिनको ब्रेकपछि क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।

क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र साविकको सेमिफाइनलिस्ट मोरक्कोबीच हुनेछ । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा भिडेका थिए । जहाँ फ्रान्स मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

यस्तै सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ । यसैगरी पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्डले भने त्यसयता फाइनल समेत पुग्न सकेको छैन ।

यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । १९ औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ र ६४ वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Leave Your Comment

Related News