काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन ऋण कारोबार अघि बढाउने तयारी गरेको छ । यसका लागि बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को मस्यौदा तयार गरेको छ ।उक्त मस्यौदा अनुरुप धितोपत्र (शेयर) खरिद गर्दा मार्जिन ऋण कारोबारको व्यवस्था गरिएको छ ।
मस्यौदा अनुरुप शेयर लगानीकर्ताहरुले आफनै पूँजी र अनुमति प्राप्त ऋणको रुपमा रहेको मार्जिन ऋणमार्फत् शेयर खरिद गर्न सकिने छ । ‘नेपालको धितोपत्र बजारमा लगानीकर्ताले आफ्नो उपलब्ध पुँजीका अतिरिक्त नियमनबमोजिम ऋण प्राप्त गरी धितोपत्र खरिद गर्न सक्ने व्यवस्था नै मार्जिन ऋण कारोबार हो। यस व्यवस्थाले लगानीकर्ताको खरिद क्षमता तथा बजारमा पुँजी परिचालन बढाउन सहयोग पु¥याए तापनि यसमा वित्तीय लिभरेज , बजार मूल्यमा उतारचढाव, तरलता, धितो मूल्यमा कमी तथा ग्राहकको दायित्व उल्लङ्घनबाट हुने जोखिमसमेत रहने भएकाले स्पष्ट नियामकीय तथा जोखिम व्यवस्थापन संरचना आवश्यक हुन्छ,’ नियमावलीमा भनिएको छ ।
प्रस्तावित नियमावलीले मार्जिन ऋण कारोबारलाई अनुमतिप्राप्त संस्थामार्फत व्यवस्थित, पारदर्शी, जोखिममा आधारित र लगानीकर्ता संरक्षणमुखी ढङ्गले सञ्चालन गर्ने कानुनी आधार निर्माण गर्ने उद्देश्य राखिएको छ। मस्यौदामा अनुमति, योग्य ग्राहक, योग्य धितोपत्र, मार्जिन खाता, प्रारम्भिक तथा सम्भार मार्जिन, दैनिक बजार मूल्याङ्कन, मार्जिन कल, धितो बिक्री, जोखिम व्यवस्थापन, पुँजी पर्याप्तता, सुशासन, ग्राहक सम्पत्ति संरक्षण, सूचना प्रविधि, साइबर सुरक्षा, निरीक्षण, सुपरीवेक्षण तथा संकट व्यवस्थापनसमेत समेटिएको छ। यसैगरी दैनिक बजार देखि बजार तथा स्वचालित मार्जिन प्रणालीमार्फत ग्राहक तथा संस्थाको जोखिमको निरन्तर अनुगमन गर्ने, ग्राहकको नगद, धितोपत्र तथा अन्य सम्पत्तिको पृथकीकरण तथा संरक्षण सुनिश्चित गर्ने र मार्जिन ऋण प्रदायक संस्थामा पर्याप्त पुँजी, तरलता, आन्तरिक नियन्त्रण, सुशासन तथा जोखिम व्यवस्थापन कायम गर्ने उद्देश्य राखिएको छ ।
मस्यौदामार्फत् प्रविधिमा आधारित, सुरक्षित तथा पारदर्शी मार्जिन ऋण कारोबार प्रणाली विकास गर्ने, बजार संकट, ठूलो मूल्य गिरावट, अत्यधिक मार्जिन प्रणाली तथा उच्च तरलताको अवस्थामा बजार स्थायित्व कायम गर्ने र प्रभावकारी नियामकीय प्रतिवेदन, निरीक्षण, सुपरीवेक्षण तथा अनुसन्धानको व्यवस्था गर्ने उद्देश्य राखिएको छ । यसैगथरी मार्जिन ऋण कारोबार अनुमति तथा इजाजतपत्रमा आधारित व्यवस्था रहने छ । मार्जिन ऋण कारोबार सञ्चालन गर्न बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त नगरेसम्म कुनै संस्थाले मार्जिन खाता सञ्चालन गर्न, ग्राहकबाट आवेदन लिन वा आफूलाई मार्जिन ऋण सेवा प्रदायकका रूपमा प्रस्तुत गर्न नपाउने व्यवस्था गरिएको छ, जुन यसको विशेषता हो । योग्य ग्राहकको व्यवस्था गर्नु र योग्य धितोपत्रको सूची समेत नियमावलीको विशेषताको रुपमा रहेको छ । मार्जिन ऋण सुविधा सबै लगानीकर्ताका लागि स्वतः उपलब्ध नहुने गरी ग्राहकको , वित्तीय क्षमता, लगानी उद्देश्य तथा जोखिम वहन क्षमता मूल्याङ्कन गरेपछि मात्र उपलब्ध गराउने व्यवस्था गरिएको छ। ग्राहकको उपयुक्तता परीक्षण नगरी मार्जिन ऋण प्रदान गर्न नपाइने व्यवस्था मस्यौदाको महत्वपूर्ण लगानीकर्ता संरक्षण उपाय हो। योग्य धितोपत्रको सूचीमा भने सबै सूचीकृत धितोपत्र मार्जिन ऋणका लागि योग्य हुने छैनन्। बोर्डले तोकेको मापदण्ड पूरा गरेका धितोपत्र मात्र योग्य हुनेछन्। योग्यता निर्धारण गर्दा बजार पुँजीकरण, कारोबारको तरलता, सार्वजनिक सेयरधनीको संख्या, ग्राहकको पूर्ण जानकारी , मूल्य अस्थिरता, संस्थागत सुशासन तथा सूचना प्रवाहको अवस्थाजस्ता पक्षलाई आधार बनाउने व्यवस्था गरिएको छ।
त्यस्तै मस्यौदाले जोखिममा आधारितलाई सहभागी नगराउने नीति पनि लिइएको छ । धितोपत्रको बजार मूल्यलाई पूर्ण रूपमा सुरक्षण मूल्य नमानी त्यसको जोखिमका आधारमा सहभागीता नगर्ने लागू गर्ने व्यवस्था गरिएको छ। प्रारम्भिक तथा सम्भार मार्जिन अन्र्तगत भने मार्जिन ऋणमा ग्राहकले न्यूनतम मार्जिन लगानी गर्नुपर्नेछ र ऋण कायम रहँदासम्म न्यूनतम मर्मत मार्जिन कायम राख्नुपर्नेछ। सम्भार मार्जिन तोकिएको स्तरभन्दा तल गएमा मार्जिन प्रणाली जारी गर्नुपर्ने व्यवस्था छ। दैनिक बजार देखि बजार अन्र्तगत भने प्रत्येक कारोबार दिनको अन्त्यमा प्रत्येक मार्जिन खाताको बजार मूल्याङ्कन गरी ग्राहकको धितो, ऋण अनुपात, धितो मूल्य तथा आवश्यक मार्जिन पुनः गणना गर्नुपर्नेछ। यस प्रक्रियालाई स्वचालित प्रणालीमार्फत सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। मस्यौदा अनुरुप ऋणको स्रोत तथा लगानी रकम व्यवस्था अन्र्तगत भने मार्जिन ऋण सञ्चालन गर्ने संस्थाले आफ्नै स्रोत, नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋण तथा नियमावलीले स्वीकार गरेका अन्य स्रोतबाट वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ। यसले मार्जिन ऋण व्यवसायलाई पर्याप्त तथा विविधीकृत लगानी आधारमा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।


