काठमाडौं । नेपालको अर्थतन्त्रमा कृषि र गैरकृषि क्षेत्रबीचको वृद्धिदर तथा योगदानमा फरक प्रवृत्ति देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहनेछ भने गैरकृषि क्षेत्र ४.५४ प्रतिशतले विस्तार हुने देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्र ३.०५ प्रतिशत र गैरकृषि क्षेत्र ४.१२ प्रतिशतले बढ्ने संशोधित अनुमान गरिएको छ। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्र ३.१० प्रतिशत र गैरकृषि क्षेत्र ३.४९ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ।
क्षेत्रगत वर्गीकरणअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्रको वृद्धिदरमा पनि फरक प्रवृत्ति देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक क्षेत्र १.६३ प्रतिशत, द्वितीय क्षेत्र ५.७७ प्रतिशत र सेवा क्षेत्र ४.२१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक क्षेत्र ३.०१ प्रतिशत, द्वितीय क्षेत्र ३.४० प्रतिशत र सेवा क्षेत्र ४.३६ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा यी क्षेत्रहरूको वृद्धिदर क्रमशः ३.११ प्रतिशत, ०.०६ प्रतिशत र ४.४९ प्रतिशत रहेको थियो।
कुल गार्हस्थ्य उत्पादन (GDP) मा योगदानको संरचना हेर्दा सेवा क्षेत्रको प्रभुत्व स्पष्ट देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक क्षेत्रले २४.५ प्रतिशत, द्वितीय क्षेत्रले १३.७ प्रतिशत र सेवा क्षेत्रले ६१.८ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत, प्राथमिक क्षेत्रको २५.० प्रतिशत र द्वितीय क्षेत्रको १३.२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा सेवा क्षेत्र ६१.९ प्रतिशत, प्राथमिक क्षेत्र २४.९ प्रतिशत र द्वितीय क्षेत्र १३.१ प्रतिशत योगदान रहेको तथ्यांक सार्वजनिक गरिएको छ।
औद्योगिक वर्गीकरणअनुसार आर्थिक गतिविधिमा पनि असमान वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत तथा ग्यास क्षेत्र सबैभन्दा बढी २०.९३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ भने वित्तीय तथा बीमा क्षेत्र ९.१६ प्रतिशतले वृद्धि हुने देखिएको छ।
त्यस्तै, सार्वजनिक प्रशासन तथा सुरक्षा क्षेत्र ०.२३ प्रतिशत र शिक्षा क्षेत्र १.५० प्रतिशतले मात्र वृद्धि हुने अनुमान गरिएको छ।
GDP मा योगदानतर्फ कृषि, वन तथा मत्स्य क्षेत्र २४.०३ प्रतिशत र व्यापार क्षेत्र १४.०९ प्रतिशतका साथ अग्रस्थानमा रहने अनुमान छ। तर पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन क्षेत्र ०.४० प्रतिशत र खानी तथा उत्खनन् क्षेत्र ०.४३ प्रतिशतका साथ न्यून योगदान गर्ने देखिएको छ।
आर्थिक संरचनामा सेवा क्षेत्रको बढ्दो भूमिका र उद्योग तथा कृषि क्षेत्रको तुलनात्मक दबाबले नेपालको अर्थतन्त्र क्रमशः रूपान्तरणतर्फ उन्मुख भइरहेको संकेत गरेको छ।


