CLI

सेवा क्षेत्र केन्द्रित अर्थतन्त्र, उच्च विप्रेषण र बढ्दो आयात निर्भरता

काठमाडौं । नेपालको आर्थिक वर्ष २०८२/८३ का प्रमुख आर्थिक सूचकहरूले अर्थतन्त्र विस्तार भइरहेको तर त्यसमा असन्तुलित र मिश्रित प्रवृत्ति देखिएको संकेत गरेका छन् । उत्पादन, सेवा, बाह्य व्यापार तथा आय सूचकहरूमा केही क्षेत्रमा सुधार देखिए पनि केही क्षेत्र अझै सुस्त गतिमा अघि बढिरहेका छन् । समग्रमा हेर्दा नेपालको अर्थतन्त्र सेवा क्षेत्रकेन्द्रित हुँदै गएको स्पष्ट देखिन्छ।

सेवा क्षेत्रअन्तर्गतका विभिन्न उपक्षेत्रहरूले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। तथ्यांक विभागका अनुसार प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा ०.७४ प्रतिशत योगदान र ४.५२ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ। सेवा लिने प्रवृत्ति, रोजगारी सेवा विस्तार तथा पर्यटक आगमनमा भएको वृद्धिले यस क्षेत्रलाई सहयोग पुगेको देखिन्छ।

तर सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा वृद्धिदर केवल ०.२३ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। सरकारी खर्चमा उल्लेख्य वृद्धि नहुनु यसको मुख्य कारण मानिएको छ। शिक्षा क्षेत्रमा पनि वृद्धिदर १.५० प्रतिशतमा सीमित रहने देखिएको छ, जहाँ विद्यार्थी संख्या र सरकारी लगानीमा आएको कमीले प्रभाव पारेको छ। स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ४.०४ प्रतिशत वृद्धिदर रहने अनुमान भए पनि सेवा संरचनामा आएको परिवर्तनका कारण उल्लेख्य तीव्रता देखिएको छैन।

आर्थिक गतिविधिका अन्य प्रमुख क्षेत्रहरूमा भने तुलनात्मक रूपमा राम्रो प्रदर्शन देखिएको छ। निर्माण क्षेत्रमा २.२१ प्रतिशत वृद्धिदर रहने अनुमान छ, यद्यपि पूँजीगत खर्चमा अपेक्षित वृद्धि नहुनु यसको प्रमुख कमजोरी हो। थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.५१ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ५.७९ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा ५.५३ प्रतिशत तथा वित्तीय तथा बीमा क्षेत्रमा ९.१६ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ। वित्तीय तथा बीमा क्षेत्र उच्च वृद्धि हुने प्रमुख क्षेत्रमध्ये एक बनेको छ।

घरजग्गा कारोबार क्षेत्रमा २.६९ प्रतिशत, पेशागत तथा प्राविधिक सेवामा ३.२७ प्रतिशत र प्रशासनिक सहयोगी सेवामा ४.५२ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ। यसले सेवा अर्थतन्त्र अझै विस्तार भइरहेको देखाउँछ।

तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यको कुल उत्पादन ९९ खर्ब २२ अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ भने मध्यवर्ती उपभोग ४१ खर्ब २७ अर्ब ३२ करोड रहने देखिन्छ। कुल स्थिर पुँजी निर्माण GDP को २६.२६ प्रतिशत पुग्ने अनुमानले लगानी विस्तार हुँदै गएको संकेत गर्छ। तर अन्तिम उपभोग खर्च घटेर ९०.२९ प्रतिशतमा सीमित हुने देखिन्छ।

बाह्य क्षेत्रमा भने केही सकारात्मक संकेत देखिएका छन्। निर्यात GDP को ९.९७ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने आयात ३४.५२ प्रतिशत रहने देखिन्छ। आयात उच्च रहे पनि कुल राष्ट्रिय बचत GDP को ४४.७७ प्रतिशत पुग्ने अनुमानले अर्थतन्त्रमा आन्तरिक संकलन क्षमता बढ्दै गएको देखाउँछ। विप्रेषण (रेमिट्यान्स) अझै पनि अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको छ, जुन GDP को ३३.०२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिव्यक्ति आयका सूचकहरूमा पनि सामान्य सुधार देखिएको छ। प्रतिव्यक्ति GDP १,५१३ अमेरिकी डलर, प्रतिव्यक्ति GNI १,५३५ डलर र प्रतिव्यक्ति GNDI २,०४४ डलर पुग्ने अनुमान गरिएको छ। विनिमय दरको प्रभावका कारण केही सूचकहरूमा स्थिरता वा सामान्य घटबढ देखिए पनि समग्र प्रवृत्ति सुधारमुखी देखिन्छ।

कृषि र गैरकृषि क्षेत्रको विश्लेषण गर्दा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने देखिएको छ भने गैरकृषि क्षेत्र ४.५४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। समग्र रूपमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रमध्ये सेवा क्षेत्रले ६१.८ प्रतिशत हिस्सा ओगट्दै अर्थतन्त्रमा स्पष्ट प्रभुत्व कायम राखेको छ।

सेवा क्षेत्रअन्तर्गत वित्तीय तथा बीमा (९.१६%), सूचना तथा सञ्चार (५.५३%), यातायात तथा भण्डारण (५.७९%), थोक तथा खुद्रा व्यापार (४.५१%), घरजग्गा कारोबार (२.६९%), प्रशासनिक सेवा (४.५२%), आवास तथा भोजन सेवा (३.१२%) लगायतका क्षेत्रहरू प्रमुख योगदानकर्ता रहेका छन्।

तर शिक्षा (१.५०%), सार्वजनिक प्रशासन तथा रक्षा (०.२३%) र अन्य सेवाहरू (२.६५%) मा वृद्धिदर कमजोर देखिएको छ, जसले सार्वजनिक क्षेत्र र सामाजिक सेवामा सुस्तता संकेत गर्छ।

Leave Your Comment

Related News