काठमाडौं । गाजामा मृत्युको भयावह सङ्ख्याका कारण चिहानको गम्भीर अभाव सिर्जना भएको छ। चिहानघारीहरू भरिँदै गएका र युद्धका क्रममा धेरै दफनस्थलहरू नष्ट भएकाले परिवारहरू वैकल्पिक उपाय खोज्न बाध्य भएका छन्।
गाजाको औकाफ तथा धार्मिक मामिला मन्त्रालयले युद्ध सुरु भएयता ४० भन्दा बढी चिहानघारीहरू नष्ट भएको जनाएको छ। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका चिहानहरूमा जान प्रतिबन्ध लगाएकाले पनि दफनका लागि ठाउँ अझ सीमित बनेको छ।
इजरायली बमबारी र जबर्जस्ती विस्थापनका आदेशका कारण लाखौँ प्यालेस्टिनीहरू विस्थापित हुनुपरेपछि यो समस्या अझ बढेको छ। पहिले चिहानका रूपमा प्रयोग गरिएका केही क्षेत्रहरू अहिले विस्थापित मानिसहरूका लागि आश्रयस्थल बनेका छन्।
एउटा परिवार पुरानै चिहान प्रयोग गर्न बाध्य
यो अभावले गर्दा परिवारहरू कठिन निर्णय लिन बाध्य भएका छन्। अल जजीराका अनुसार २० वर्षका ओमर अल-सौहीले भर्खरै आफ्नै ४० वर्षीय बुबा मोहम्मदलाई गाजा शहरको जैतुन क्षेत्र नजिकै दफन गर्ने ठाउँ खोज्नुपरेको थियो, जहाँ उहाँलाई इजरायली सैन्य क्षेत्र “येलो लाइन” नजिकै गोली हानिएको थियो।
मोहम्मद जुन १० मा जैतुन क्षेत्रको सडक किनारमा चिया-फिया बेच्दै गर्दा उहाँको घाँटीमा गोली लागेको थियो र लगत्तै उहाँको मृत्यु भएको थियो।
ओमर जैतुन चिहानघारी पुग्दा त्यहाँ चिहानहरू एकअर्कासँग टाँसिएर राखिएका भेट्टाए। तीमध्ये धेरै चिहानहरू गाजामा इजरायलको जारी नरसंहारमा मारिएका प्यालेस्टिनीहरूका थिए।
धेरैजसो चिहानमा एउटा ढुङ्गा र मृतकको नाम लेखिएको कागजको टुक्रा मात्र थियो, जसले ठाउँको अभाव र युद्धले सिर्जना गरेको परिस्थितिलाई दर्शाउँछ।
“म चिहानघारीको बीचमा उभिएँ र धेरै चिहानहरू देखेँ। त्यहाँ बालुवाका पहाडहरू थिए, जसमुनि मानिसहरू पुरिएका थिए,” ओमरले अल जजीरालाई भने। “युद्धअघि जस्तो राम्रोसँग बनाइएको वा तयार पारिएको चिहान थिएन; चिहान भन्नु नै एउटा ढुङ्गा र सहिदको नाम लेखिएको कागज मात्र थियो।”
अहिले एउटा चिहानको मूल्य करिब ५०० शेकेल ($१६७) पर्छ, जुन रकम ओमरको परिवारले तिर्न सक्दैनथ्यो। नयाँ चिहानका लागि ठाउँ नभएपछि उनीहरूले हजुरबुबाको पुरानो चिहान प्रयोग गरे।
“नयाँ चिहानका लागि ठाउँ पनि थिएन, त्यसैले हामीले उहाँलाई हाम्रा हजुरबुबाको चिहानमा दफन गर्नुपर्यो,” उनले भने।
हजारौँ मानिस स्थायी चिहानविहीन
गाजाभरि सेवाहरू ठप्प हुनु र इजरायली आक्रमणको खतराका कारण मारिएका हजारौँ प्यालेस्टिनीहरू “बेपत्ता” को सूचीमा परेका छन्।
परिवारहरूले आफ्ना मृतकहरूलाई बगैँचा, त्रिपाल, विस्थापित शिविर, विद्यालय र अस्पताल परिसरहरूमा गाडेका छन्।
अक्टोबर २०२५ मा संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि इजरायली हिंसामा केही कमी आएसँगै परिवारहरूले भत्किएका घरहरू र अस्थायी चिहानहरूबाट आफ्ना प्रियजनका शवहरू निकाल्न थाले।
युद्धविराम घोषणा भएयता कम्तीमा १,२०० प्यालेस्टिनी मारिएका छन्। गाजाका अधिकारीहरूले अस्पताल परिसरका सातवटा सामूहिक चिहानबाट ५२९ प्यालेस्टिनीको शव निकालिएको बताएका छन्।
इजरायली हिंसा रोकिएको बेला ओमरको परिवारले मोहम्मदको अवशेष निकालेर स्थायी दफनका लागि चिहानघारीमा सारेका थिए।
सामग्रीको अभावले बढ्यो दफन खर्च
दफनका लागि ठाउँको अभावसँगै हेडस्टोन (चिहानमा राखिने ढुङ्गा) लगायतका अत्यावश्यक सामग्रीको पनि अभाव भएको छ। गाजाका अधिकारीहरूका अनुसार अहिले दफनको खर्च ७०० ($२३५) देखि १,००० शेकेल ($३३५) सम्म पुग्छ।
परिवारहरूले उचित हेडस्टोन किन्न नसकेसम्म अस्थायी सङ्केतका रूपमा भत्किएका भवनका इँटा-ढुङ्गा, माटो र जस्तापाता प्रयोग गरिरहेका छन्।
औकाफ मन्त्रालयका सञ्चार अधिकारी इकरामी अल-मदल्ललका अनुसार गाजाका ६० वटा चिहानघारीमध्ये धेरैजसो युद्धअघि नै भरिसकेका थिए।
“चिहानको अभावका कारण हामीले नयाँ चिहानघारीहरू स्थापना गर्न आवश्यक छ,” उनले अल जजीरालाई भने।
मन्त्रालयले नयाँ ठाउँहरूको खोजी गरिरहेको छ भने अधिकारीहरूलाई अस्थायी दफनस्थलबाट शवहरू स्थायी चिहानमा सार्न पनि गाह्रो भइरहेको छ।
“शवहरूको स्थानान्तरण जथाभावी गर्न सकिँदैन। यसका लागि औकाफ मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गर्नुपर्छ,” उनले भने।
खान युनिस चिहानघारी: ६० बाट ६,००० पुगे चिहान
यो सङ्कटको भयावहता खान युनिस चिहानघारीमा पनि स्पष्ट देखिन्छ, जहाँ १९ वर्षभन्दा बढी समयदेखि चिहान खन्ने काम गरिरहेका ५० वर्षीय ताफेश अबु हताब कार्यरत छन्।
युद्ध सुरु हुँदा यो चिहानघारीमा करिब ६० वटा चिहान थिए। अहिले यहाँ ६,००० चिहान पुगेका छन्, भने एक समय ताफेशले दैनिक करिब ३५ वटा चिहान तयार पार्ने गर्थे।
उनले यो युद्धलाई आफ्नो करियरको सबैभन्दा कठिन समय भनेका छन्।
“हामीले कहिल्यै यति विनाशकारी रक्तपातको सामना गरेका थिएनौँ,” उनले अल जजीरालाई भने। “दर्जनौँ सहिदहरूलाई दफन नगरिएको कुनै दिन छैन।”
उनले दफन गर्नेमध्ये धेरैजसो महिला र साना बालबालिकाहरू छन्। केही अवस्थामा, इजरायली बमले घर, सवारी साधन वा त्रिपाल नष्ट गरेपछि सिङ्गो परिवार नै चिहानघारीमा आइपुग्छ।
“उनीहरू हाम्रै टाउकोमाथि हाम्रा घरहरू भत्काउँछन्, अनि तिनै घरका भग्नावशेषबाट हामी हाम्रा चिहानहरू बनाउँछौँ,” उनले भने। एजेन्सी




