काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरो कारण त्यस क्षेत्रमा रहेको जलविद्युत र सवस्टेशनहरुमा क्षति पुगेको जनाएको छ ।
प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब २२० के.भी सवस्टेशन, त्रिशुली तथा देविघाट जलविद्युत केन्द्र एवम् विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त भएकोले विद्युत आपूर्ति अवरुद्ध हुन गएको छ । प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आपूर्ति नियमित नहुन्जेल सम्म धैर्य गरिदिई सोहिबमोजिमको सूचना प्रवाह गरिदिनु हुन समेत सम्बन्धित सबैमा प्राधिकरण हार्दिक अनुरोध गरेको छ ।
प्राधिकरणले रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
उक्त प्राकृतिक प्रकोपका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारण सबैको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षहरुलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं, प्राधिकरणले भनेको छ । बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक तथा प्राधिकरणका कर्मचारी र सर्वसाधारण सबैले उच्च सतर्कता अपनाउन तथा थप जोखिम देखिएमा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन आग्रह गर्दछौं । साथै, आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न समेत सबैमा प्राधिकरणले अनुरोध गरेको छ ।
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन



