काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन भएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी भएर उनले दिवंगत हुनुभएका अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गरे।
साथै, उनले बाढीमा परी बेपत्ता रहेका १४ जना राष्ट्रसेवक कर्मचारीको अज्ञात अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरू सकुशल फर्किएको सुन्न आतुर रहेको बताए।
बाढीमा परी ज्यान गुमाएका अधिकृत शर्माको परिवार र बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीहरूका परिवारमा परेको गहिरो पीडाप्रति दुःख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले उनीहरूको दु:खमा सरकार र सिङ्गो अर्थ मन्त्रालय साथै रहेको बताए।
कर्तव्यपालनको सिलसिलामा परलोक भएका अधिकृत शर्माको परिवारलाई सरकार र अर्थ मन्त्रालयका तर्फबाट दिन सकिने राहत र पुनर्स्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले स्पष्ट पारे।
श्रद्धाञ्जली तथा स्मरण सभामा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले नवकुल शर्माको अभाव सधैँ खड्किरहने बताए। सरकारलाई राजस्व उठाउने कार्यका लागि खटिँदा ज्यान गुमाउन पुगेका शर्मालाई उनले राजस्व सहिदको रूपमा सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।
साथै, उनले कर्तव्यपालनको सिलसिलामा बाढीमा परेर सम्पर्कविच्छेद भएका र अवस्था अज्ञात रहेका १४ जना कर्मचारीहरूको अवस्थाले चिन्तित तुल्याएको बताए। उनीहरूको अवस्था पहिल्याउन सरकारले यथेष्ट पहल गरेको पनि सचिव उपाध्यायले बताए।
सभामा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भुसालले मृतक कर्मचारीको अवस्था पहिल्याउन र बेपत्ताको खोजी गर्न हरसम्भव प्रयास जारी राखेको बताए।
सो अवसरमा रसुवा भन्सार कार्यालयमा भन्सार प्रमुखको जिम्मेवारीमा रहेका उपसचिव राजेन्द्र ढुङ्गानाले भदौ १० गते भोगेको त्रासदीको स्मरण गरेका थिए।
आँखैअघि आफ्ना सहकर्मी गुमाएको र बेपत्ता भएको घटनाले अझै झस्काइरहेको उनले बताए।
भदौ १० गतेको बाढीमा परी रसुवा भन्सार कार्यालयमा खटिएका १५ जना राष्ट्रसेवक कर्मचारी बेपत्ता भएका थिए। जसमध्ये शर्माको शव गोरखामा फेला परेपछि पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको थियो। सो घटनामा परेका १४ जना कर्मचारीको अवस्था अझै अज्ञात छ।
विभागका अनुसार बेपत्ता हुनुहुने कर्मचारीहरूमा भीम लामा, विष्णुप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओली, विकास तामाङ, रामबहादुर नेपाली र सुनिल गुरुङ हुनुहुन्छ। उहाँहरुको अवस्था पहिल्याउन भन्सार विभागले विशेष टोली नै बनाएर खटाएको छ।



