काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताएका छन् । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिएका छन् ।यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ ९इयु० को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयले यसलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ ।
बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ ।
इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ ।
यसैबीच, इराकले साउदी अरबमाथिका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले आक्रमणका लागि प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । अल जजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरी आक्रमण र त्यसबाट नागरिक तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गरेको साउदी विदेश मन्त्रालयले जनाएको छ ।




